भूकम्पबाट सिकाइ अब व्यवहारमा उतार्ने समय, समुदाय–केन्द्रित तयारीमा जोड
काठमाडौँ । २८ औं भूकम्प स्मृति सभाले विपद् व्यवस्थापनलाई औपचारिक दिवस र कार्यक्रममै सीमित नराखी समुदायको दैनन्दिन तयारी, सीप र संरचनासँग जोड्नुपर्ने निष्कर्ष निकालेको छ । ‘सबै तहका सरकार, सबै नागरिकको तयारी : भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी’ भन्ने नारासहित काठमाडौंको नयाँ सडकस्थित भूगोल पार्कमा आयोजित सभामा वक्ताहरूले भूकम्पीय जोखिम घटाउन समुदाय नै केन्द्रबिन्दु हुनुपर्नेमा जोड दिए ।
१९९० साल माघ २ गते गएको विनाशकारी भूकम्प र त्यसपछि पटक–पटक आएका ठूला कम्पनले दिएको पाठलाई अब व्यवहारमा उतार्न ढिला गर्न नहुने धारणा कार्यक्रममा व्यक्त भयो । विगतका क्षतिबाट सिकेर सुरक्षित बस्ती निर्माणमा नयाँ पुस्तालाई सहभागी गराउने उद्देश्यसहित २०५५ सालदेखि प्रत्येक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति न्यूनीकरणका लागि पूर्व तयारी संयन्त्रलाई बलियो बनाउनु अपरिहार्य भएको बताए । उनले अन्तरसरकारी समन्वय सुदृढ गर्दै स्थानीय तहका प्रयासलाई संस्थागत गर्नुपर्नेमा जोड दिँदै भने, ‘नागरिक सचेतना र उत्थानशील सहरका आधारभूत सूचक कार्यान्वयनमा लैजान सक्यौं भने जोखिम घटाउन सकिन्छ । अभ्यास र सिकाइले नै क्षमता बढाउँछ ।’
सभाका अध्यक्ष तथा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विपद् व्यवस्थापनमा समुदायको भूमिकालाई पहिलो पंक्तिमा राख्नुपर्ने बताइन् । ‘विपद् पूर्व तयारीदेखि खोज, उद्धार, पुनःस्थापना र पुनर्लाभसम्म समुदाय नै पहिलो उद्धारकर्ता हो’, उनले भनिन्, ‘महानगरलाई उत्थानशील सहर बनाउने हो भने अन्तरसरकारी समन्वय, ज्ञान–सीपको आदान–प्रदान र एकीकृत योजना अनिवार्य छ ।’
महानगरपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले अब क्षति सम्झनेभन्दा क्षति हुन नदिने प्रणाली विकासमा लाग्नुपर्ने बेला आएको धारणा राखे । उनले परम्परागत रैथाने सीपको अध्ययन र प्रयोगले प्रतिरोधी संरचना निर्माणमा ठूलो योगदान दिन सक्ने बताउँदै प्राचीन संरचनाले ठूला भूकम्प थेगेको इतिहासलाई उदाहरणका रूपमा प्रस्तुत गरे ।
स्मृति सभामा १९९० सालको ८.४ म्याग्निच्युडको भूकम्पदेखि २०४५ सालको उदयपुर भूकम्प, २०७२ सालको गोरखा भूकम्प, २०७९ सालको डोटी र २०८० सालको जाजरकोट भूकम्पसम्मका अनुभव र सिकाइ स्मरण गरियो । ती विपद्ले मानव समाज, भौतिक संरचना र वातावरणमा पारेको प्रभावको समीक्षा गर्दै सुरक्षित र जुझारु सहर निर्माण गर्ने संकल्प दोहोर्याइयो ।
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा विपद् व्यवस्थापनमा सक्रिय सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । स्मृति सभाको अवसरमा आगलागी, सडक दुर्घटना र विपद्जन्य जोखिममा सक्रिय प्रहरीहरूलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । सम्मानित हुनेमा नगर प्रहरी हवल्दार विपिन घिमिरे, जवान बीरेन्द्र शाही, पुष्पन आले मगर, सशस्त्र प्रहरी हवल्दार आइतसिंह तामाङ र जवान जसबस्र शाह तेली रहेका छन् ।
यसै अवसरमा काठमाडौँ महानगरपालिकाले दिउँसो खुला मञ्चमा मूल समारोह आयोजना गर्दै विपद् पूर्व तयारी, खोज तथा उद्धारसँग सम्बन्धित साधन, उपकरण, प्रविधि र सेवाको प्रदर्शन गर्ने जनाएको छ । विश्व जोखिम मानचित्रमा भूकम्पजन्य विपद्को दृष्टिले नेपाल ११ औं स्थानमा रहेको सन्दर्भ उल्लेख गर्दै वक्ताहरूले अब नीति, संरचना र व्यवहार तीनै तहमा परिवर्तन आवश्यक रहेको निष्कर्ष निकाले ।
