अब आवेग होइन, एकता रोजौं
नेपाली कांग्रेसको विशेष महाधिवेशन सम्पन्न भइसकेपछि निर्वाचन आयोगले आज साँझ विशेष महाधिवेशनले दिएको निर्णयबमोजिम नेपाली कांग्रेस पार्टीको नेतृत्वलाई अध्यावधिक गर्ने निर्णय गरेको छ।
निर्वाचन आयोगले विधिको जगमा उभिएर नेपालको संविधान, प्रचलित कानूनहरू, नेपाली कांग्रेसको विधानको आधारमा जे निर्णय गरेको छ, यो निर्णयले आगामी दिनका लागि समेत एउटा ऐतिहासिक नजीर कायम गरेको छ। नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन आयोजना गर्नका लागि दूरदराजका गाउँहरूमा बसेर, प्रदेशहरूमा बसेर, जो–जो आदरणीय साथीहरूले हस्ताक्षर गर्नुभयो, माग दर्ता गर्नुभयो, उहाँहरू सबैलाई म विशेष बधाई दिन चाहन्छु। साथै, म आग्रह गर्न चाहन्छु—यो विधिवत् प्रक्रियाबमोजिम जे भएको छ, त्यसलाई हामीले एउटा नवीन कांग्रेसको सुरुवातको रूपमा, नवीन नेपालका लागि नवीन कांग्रेसको सुरुवातको रूपमा लिनुपर्छ।
निर्वाचन आयोगमा एक प्रकारको बहस भयो। कसले नेपाली कांग्रेस पार्टीको नाम, झण्डा अथवा चुनाव चिह्न प्राप्त गर्ने भन्ने कोणबाट पनि विविध दाबीहरू रहे। निर्वाचन आयोगले विशेष महाधिवेशनले गरेको निर्णयको पक्षमा निर्णय गरे आन्दोलन पनि गर्छौँ भन्ने खालका अभिव्यक्तिहरू पनि आए। एउटा परिस्थितिमा आवेगका कुरा पनि भएका होलान्। तर, म यो बेला पार्टीका सबै श्रद्धेय अग्रज नेताहरूलाई सविनय नम्र निवेदन गर्न चाहन्छु—इतिहासको यो घडीमा विधि र प्रक्रियाको बाटोबाट जे निर्णय भएको छ, त्यसले जे नवीन सुरुवात गर्दैछ, त्यो सुरुवातको यो घडीमा हामी अब पुराना आवेगका कुराहरू बिर्सनुपर्छ। हामी सबै एकताबद्ध भएर अघि बढ्नुपर्छ।
माघ ६ गते उम्मेदवारी दर्ता छ। गगन थापा सभापति रहनुभएको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिले उम्मेदवारी चयन सम्बन्धी प्रक्रियालाई अगाडि बढाइसकेको छ। पार्टीका साथीहरूले देशभरिबाट कहाँ उम्मेदवार सर्वसम्मत सिफारिस भएका छन्, त्यसलाई अलग्गै छुट्याइसक्नुभएको छ, छुट्याउँदै हुनुहुन्छ। कहाँ उम्मेदवार चयन गर्दा अलिकति थप ध्यान दिनुपर्ने, मिलाउनुपर्ने अवस्था छ, त्यसतर्फ ध्यान दिँदै हुनुहुन्छ। त्यसलाई सूचीकरण गर्दै हुनुहुन्छ। भोलि हामी बैठक बस्दा त्यसबारे साथीहरूले तयार गर्नुभएको विवरण हेरेर नेपाली कांग्रेसको कामको गतिलाई हामी अगाडि बढाउँदै जानेछौँ।
विशेष महाधिवेशन सम्पन्न भएको भोलिपल्टै, मध्यरातपछि माघ सङ्क्रान्तिको बिहान बैठक बसेर नेपाली कांग्रेस पार्टीको निर्वाचन परिचालन समिति, आगामी निर्वाचनका लागि संकल्पपत्र तथा घोषणापत्र लेख्ने समिति, उम्मेदवार चयनका लागि संसदीय बोर्ड—यी सबै विषयमा निर्णय भइसकेको छ।
पछिल्लो भदौ २३ र २४ गतेको आन्दोलनले देशलाई नयाँ परिस्थितितर्फ लैजाने संकल्प गर्यो। त्यस आन्दोलनमा जीवन गुमाएका नेपाली होनहार युवाप्रति म श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। आन्दोलनमा जीवन गुमाएका छोराछोरीका आमा–बुबाप्रति भावनात्मक एक्यबद्धता प्रकट गर्न चाहन्छु। नेपाली कांग्रेस पार्टीका तर्फबाट हामी अपिल, आग्रह र संकल्प गर्दछौँ—सात सालको क्रान्तिले देशलाई स्वतन्त्रता दिँदा कांग्रेसले नेतृत्व गर्यो, २०४६ सालमा प्रजातन्त्र दिलाउँदा कांग्रेसले नेतृत्व गर्यो, २०६३ सालमा शान्ति स्थापना गर्दा कांग्रेसले नेतृत्व गर्यो, संविधान निर्माण गरेर २०७२ सालमा पुग्दा कांग्रेसले नेतृत्व गर्यो। मधेस आन्दोलनले अघि सारेको संघीयताको मुद्दालाई नेपाली कांग्रेसले पहिल्यै दस्तावेजीकरण गरेर केन्द्रीय रूपमा नीतिगत रूपमा उठाएको थियो। त्यसलाई सम्बोधन गर्दै संविधानमा अङ्कन गर्ने, संविधानअनुसार चुनाव गराउने काम नेपाली कांग्रेसले गर्यो। अब स्वतन्त्रता, प्रजातन्त्र, समावेशिता, शान्ति स्थापना र संविधान निर्माणपछि देशले माग गरेको सुशासन प्रत्याभूत गर्ने घडी आएको छ। यस विषयमा नेपाली कांग्रेस पार्टी पूर्ण रूपमा स्पष्ट छ।
हामीले स्वीकार गरेका छौँ—बितेका ३४ वर्षमा ३० वटा सरकार बन्नु हाम्रो कमजोरी थियो। यसप्रति हामी आत्मालोचित छौँ। आज नेपाली कांग्रेस पार्टीलाई विधिवत् रूपमा नयाँ ढंगले अघि बढाउने मार्ग प्रशस्त भएको छ। देशभरिका तथा विदेशमा रहेका साथीहरूलाई सम्मान व्यक्त गर्दै म आग्रह गर्न चाहन्छु—यो यात्रा टुंगिएको होइन, यो यात्रा सुरु भएको हो। यात्रा सुरु हुँदै गर्दा विशेष महाधिवेशनको उद्घाटन समारोहमा भनेको वाक्य दोहोर्याउन चाहन्छु—जो बदलिन्छन्, तिनैले बदल्न सक्छन्। अब हामीले बदल्ने संकल्प गर्नुपर्छ।
यो घडी कसैले कसैप्रति आवेग नराखी अघि बढ्ने संकल्प गर्नुपर्छ। हिजो कसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नुभयो, कसले गर्नुभएन—अब त्यो दरार रहनु हुँदैन। विधि र विधानको जगमा गरिएको निर्णयको आधारमा कांग्रेसलाई बदल्दै लैजानु छ। त्यसैले अब हामीले आवेग होइन, एकता रोज्नुपर्छ। पार्टीका सभापति गगनकुमार थापाको वक्तव्य पनि सार्वजनिक भइसकेको छ। संस्थागत रूपमा यसलाई अपनत्वसहित अघि बढाउँ, पुरानो अध्याय यहीँ अन्त्य गरौँ।
