देउवा पक्षीय कांग्रेस सर्वोच्च अदालत जाने
काठमाडाैं । नेपाली कांग्रेसको देउवा पक्षीय समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ।
देउवा पक्षीय कांग्रेसको सानेपामा बसेको बैठकले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाउँदै कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो।
बैठकका निर्णय सार्वजनिक गर्दै देउवा पक्षका प्रवक्ता प्रकाशशरण महतले आयोगको निर्णय अस्वीकार्य रहेको बताए। उनले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिने जानकारी दिए।
महतका अनुसार पार्टीको विधान र लोकतान्त्रिक मूल्य–मान्यताको विपरीत आयोगले निर्णय गरेको निष्कर्षसहित कांग्रेसले सबै कानुनी विकल्प प्रयोग गर्नेछ । साथै, आवश्यक परे राजनीतिक दबाबका कार्यक्रमसमेत अघि बढाइने उनले बताए।
निर्वाचन आयोगको पछिल्लो निर्णयपछि नेपाली कांग्रेसभित्रको विवाद थप चर्किएको छ।
निर्वाचन आयोगले शुक्रबार साँझ विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई झण्डा र चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको थियो।
