`

रविविरुद्धको मुद्दा फिर्तापछि युवा संघले भन्याे – ‘जनतालाई लाज भो, सहकारी ठगको राज भो ।’

Nepal One HD ३ माघ २०८२ १८:४८
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय युवा संघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रतिवादी भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध प्रदर्शन गरेको छ ।

संघले लामिछानेविरुद्धको दुई गम्भीर मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै भनेको छ, ‘जनतालाई लाज भो, सहकारी ठगको राज भो ।’

यसअघि नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले पनि लामिछानेविरुद्धको दुई मुद्दा फिर्ता लिने सरकारी निर्णयको विरोधमा शुक्रबार प्रदर्शन गरेको थियो ।

गत ३० पुसमा सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत यो मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।

सरकारको यो कदमले अपराधबाट आर्जित सम्पत्ति व्यवस्थापन (सम्पत्ति शुद्धीकरण)बारे विश्व्यापी अनुगमन गर्ने फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई जोखिमपूर्ण मुलुकको सूचीबाट कालो सूचीमा राख्‍ने चिन्ता बढेको छ ।

यदि कालो सूचीमा परे नेपाललाई पर्ने आर्थिक असर कल्पना बाहिरको हुने अर्थ–राजनीतिक विश्लेषक डा. भीम भुर्तेल बताउँछन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै भने, ‘अहिले सुशीला कार्कीको महान्यायधिवक्ता सविता भण्डारीले रविविरूद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरको मुद्धा फिर्ता लिने निर्णय गरेको कारण अब पक्का ग्रेबाट कालो सूचीमा झर्ने छ । यसको कारण देशलाई पर्ने आर्थिक असर कल्पना बाहिरको कुरो हो । एक पटक झरेपछि माथि उक्लन गाह्रो पर्छ ।’

रविविरुद्धको दुवै मुद्दा गम्भीर भएको भन्दै ठट्टा गर्न नहुने उनले बताए ।

लामिछानेविरुद्ध काठमाडौं, कास्की, रुपन्देही र पर्सा जिल्लामा संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा विचाराधीन छ । यी जिल्लाहरूमा सहकारी ठगी मुद्दा पनि छ । चितवनमा भने सहकारी ठगीको मात्रै छ ।

कानुनतः सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन पाउँदैन । तर, रास्वपा सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न पाउने र निर्वाचन जिते सांसद हुँदै मन्त्री हुने बाटो खुला गर्न दुई गम्भीर प्रकृतिको मुद्दा सरकारले सुटुक्क फिर्ता गर्ने निर्णय गरेको हो ।

महान्यायाधिवक्ता कार्यालयका अनुसार रविविरुद्ध चलिरहेका ती मुद्दालाई सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयबाट फिर्ता लिन निर्देशन दिइसकिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *