`

संघर्षबाट संसदसम्मको यात्रा : रामेछापबाट एमाले उम्मेदवार ढुङ्गेलका के छन् प्रतिबद्धता ?

Nepal One HD ४ माघ २०८२ १०:४७
निर्वाचन विषेश

रामेछाप । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि रामेछाप निर्वाचन क्षेत्रबाट नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बनेका पार्टी केन्द्रीय सदस्य माधव ढुङ्गेलले आफ्नो राजनीतिक यात्रा, अनुभव र भावी प्रतिबद्धता सार्वजनिक गर्दै रामेछापेली जनतासँग मतको अपिल गरेका छन् ।

ढुङ्गेलले विद्यार्थी राजनीतिबाट सुरु भएको आफ्नो संघर्षपूर्ण यात्राको स्मरण गर्दै करिब १५ वर्षअघि अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा निर्वाचित भएको उल्लेख गरेका छन् । त्यसयता एकताकालसहित पार्टी केन्द्रीय कमिटीमा चार पटक निर्वाचित भइसकेको बताउँदै उनले आफू निरन्तर संघर्ष, सक्रियता र कर्मका बलमा यहाँसम्म आइपुगेको स्पष्ट पारेका छन् ।

‘मेरा दुःख, पीडा र संघर्षका कथा नजिकबाट बुझ्नेहरूलाई थाहा छ,’ उनले भनेका छन्, ‘म कुनै विशेष पृष्ठभूमिबाट होइन, धुलो–मैलो खेलेर हुर्किएको गाउँको मान्छे हुँ, जसले आफ्नै बलबुतामा यो यात्रा तय गरेको हो ।’ आफ्नो उम्मेदवारीका कारण पार्टीभित्र वा बाहिर कसैलाई पनि दुःखी हुनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । आफू पटक–पटक चुनाव लड्ने उम्मेदवार नभएको र उमेरका हिसाबले पनि अझै नयाँ पुस्ताकै प्रतिनिधि रहेको उल्लेख गर्दै ढुङ्गेलले अनुभव र युवाशक्तिको सन्तुलित संयोजनका रूपमा आफूलाई प्रस्तुत गरेका छन् ।

‘म अनुभवले खारिएको छु तर जोश, जाँगर र ऊर्जा अझै उत्तिकै छ,’ उनले भने, ‘पार्टी र देशले पत्याए जुनसुकै जिम्मेवारी पनि इमानदारीपूर्वक बहन गर्न सक्छु ।’ रामेछापेली जनतामाझ पार्टीले पहिलो पटक आफूलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा अघि सारेको भन्दै उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित सम्पूर्ण केन्द्रीय नेतृत्वप्रति आभार व्यक्त गरेका छन् । साथै, उम्मेदवार सिफारिस प्रक्रियामा परेका अन्य नेताहरूलाई धैर्य र सहकार्यको सन्देश दिँदै उनले राजनीति सामूहिक यात्राको विषय भएको उल्लेख गरेका छन् ।

‘अवसर सबैका लागि आउँछन्,’ उनको भनाइ छ, ‘मिलेरै अघि बढ्दा मात्रै पार्टी र जिल्लाको हित हुन्छ ।’ ढुङ्गेलले रामेछापेली जनताले दिएको मतको सम्मान गर्दै संसदमा जिल्लाको आवाज सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । विकास, सुशासन र जनजीविकाका सवालमा प्रभावकारी भूमिका खेल्ने वाचा गर्दै उनले आगामी निर्वाचनमा आफूलाई अमूल्य मत दिएर विजयी गराउन आग्रह गरेका छन् । ‘तपाईंहरूको मत मेरो जिम्मेवारी हो,’ उनले भने, ‘त्यसको इज्जत राख्दै जनताको पक्षमा निडर भएर काम गर्नेछु ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *