रास्वपाले टुंग्यायो थप उम्मेदवार, झापा–२ बाट पूर्व उपसभामुख राना मैदानमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभातर्फ उम्मेदवार छनोटलाई तीव्र बनाउँदै विभिन्न जिल्लाका थप निर्वाचन क्षेत्र टुंगो लगाएको छ । पार्टीको केन्द्रीय नेतृत्वको हिजो राति अबेरसम्म चलेको बैठकले देशका पहाडी, हिमाली र तराई क्षेत्र समेट्ने गरी नयाँ उम्मेदवारको सूची सार्वजनिक गरेको हो । निर्णयअनुसार नुवाकोट क्षेत्र नम्बर १ बाट डा. विक्रम तिमिल्सिना र क्षेत्र नम्बर २ बाट डा. अच्युतम लामिछाने उम्मेदवार बनेका छन् । दाङ क्षेत्र नम्बर ३ मा कमल सुवेदीलाई मैदानमा उतार्ने निर्णय गरिएको छ भने लमजुङबाट धर्म केसीले रास्वपाको प्रतिनिधित्व गर्ने भएका छन् ।
पूर्वी नेपालमा रास्वपाले उल्लेख्य उपस्थिति जनाउने संकेत देखिएको छ । झापा क्षेत्र नम्बर १ मा निशा डाँगी उम्मेदवार चयन भएकी छन् भने झापा–२ बाट पूर्व उपसभामुख इन्दिरा राना मगरलाई उम्मेदवार बनाइएको छ । यसैगरी झापा–३ मा प्रकाश पाठक, झापा–४ मा शम्भु सुस्केरा ढकाल र झापा–५ मा बालेन्द्र शाह (बालेन) लाई उम्मेदवार बनाइएको पार्टीले जनाएको छ ।
नवलपुर क्षेत्र नम्बर १ बाट राजन गौतमले टिकट पाएका छन् । कर्णालीतर्फ जुम्लाबाट विनिता कठायत उम्मेदवार चयन भएकी छन् भने सुदूरपश्चिमको कञ्चनपुर क्षेत्र नम्बर ३ मा ज्ञानेन्द्र महताले प्रतिनिधित्व गर्नेछन् । मध्य तथा पूर्वी पहाडी जिल्लामा पनि रास्वपाले पेशागत र नयाँ अनुहारलाई प्राथमिकता दिएको देखिन्छ । दोलखाबाट इञ्जिनियर जगदीश खरेल, मोरङ–१ बाट अधिवक्ता यज्ञमणि न्यौपाने र मोरङ–३ बाट गणेश कार्की उम्मेदवार बनेका छन्। ओखलढुंगामा विश्वराज पोखरेल र स्याङ्जा क्षेत्र नम्बर १ मा धनन्जय रेग्मीले टिकट पाएका छन् ।
यसैगरी बाजुराबाट हेमराज थापा, बागलुङ क्षेत्र नम्बर २ बाट ‘जेनजी युवा’ भनेर चिनिने सोम शर्मा, रामेछापबाट डा. कृष्णहरि बुढाथोकी उम्मेदवार चयन भएका छन् । तनहुँ क्षेत्र नम्बर २ मा श्रीराम न्यौपाने र धादिङ क्षेत्र नम्बर २ मा बोधनारायण श्रेष्ठलाई पार्टीले उम्मेदवार बनाएको छ । रास्वपाले विभिन्न पृष्ठभूमिका व्यक्तिलाई उम्मेदवार बनाएर पुराना राजनीतिक अभ्यासभन्दा फरक ढंगले निर्वाचनमा होमिने संकेत दिएको विश्लेषकहरू बताउँछन् । पार्टी नेतृत्वले आगामी दिनमा बाँकी क्षेत्रका उम्मेदवार पनि क्रमशः सार्वजनिक गर्दै जाने जनाएको छ ।
