`

कांग्रेसमा व्यापक फेरबदल : सबै क्षेत्रको लाग्यो उम्मेदवार टुंगो (सूचीसहित)

Nepal One HD ६ माघ २०८२ १४:४२
निर्वाचन विषेश

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १६५ मध्ये १५६ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । मनोनयन दर्ताको दिनसम्म पनि उम्मेदवार छनोट प्रक्रिया जारी राख्दै आएको कांग्रेसले अब ९ वटा निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवार तय गर्न बाँकी राखेको छ । पार्टीका अनुसार काठमाडौंका १० मध्ये ४ निर्वाचन क्षेत्र (काठमाडौं–१, २, ३ र ७) मा अझै उम्मेदवार टुंगो लाग्न सकेको छैन । यस्तै भक्तपुर–१, चितवन–१, पर्सा–२ र कैलाली–४ मा पनि कांग्रेसले उम्मेदवार तय गर्न बाँकी छ ।

नयाँ नेतृत्वको प्रभाव, पुराना अनुहारहरू बाहिर
विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वमा आएको कांग्रेसले यसपटक उम्मेदवार छनोटमा ठूलो पुनर्संरचना गरेको देखिएको छ । निवर्तमान सभापति शेरबहादुर देउवा, उनकी पत्नी आरजु राणादेखि लिएर देउवा र डा. शेखर कोइराला पक्षसँग जोडिएका करिब ३५ प्रभावशाली नेताहरू चुनावी मैदानबाट बाहिरिएका छन् ।

कांग्रेस नेतृत्व परिवर्तनसँगै पार्टीभित्रको शक्ति सन्तुलन फेरिँदा संसदीय राजनीतिका ‘भेट्रान’ मानिने नेताहरूलाई टिकट नदिइएको हो । पार्टीको आधिकारिता विवाद सर्वोच्च अदालतसम्म पुगेको पृष्ठभूमिमा निवर्तमान कार्यवाहक सभापति पूर्वबहादुर खड्काले नैतिक कारण देखाउँदै उम्मेदवारी नदिँदा सुर्खेत–१ खाली भएको छ ।

पूर्व उपसभापति, महामन्त्रीदेखि कोषाध्यक्षसम्म बाहिर
यस निर्वाचनमा कांग्रेसका तीन जना पूर्व उपसभापति धनराज गुरुङ, गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार टिकटबाट वञ्चित भएका छन् । यस्तै, पार्टीका संस्थापक नेता बीपी कोइरालाका पुत्र तथा पूर्व महामन्त्री शशांक कोइरालाले पनि नवलपुर–१ बाट टिकट पाएनन्, जहाँ उनी लगातार तीन पटक निर्वाचित भइसकेका थिए । निवर्तमान सहमहामन्त्रीहरू बन्द्र पाण्डे, जीवन परियार र उमाकान्त चौधरी तथा कोषाध्यक्ष उमेश श्रेष्ठ पनि यस पटक चुनावी मैदानमा छैनन् । पाण्डेले स्वयं उम्मेदवार नबन्ने घोषणा गरेका थिए भने परियार र चौधरी सभापति थापाको प्राथमिकतामा पर्न सकेनन् ।

काठमाडौं र अन्य जिल्लामा अनुभवी नेताको विदाइ

काठमाडौं–१ बाट लगातार निर्वाचित हुँदै आएका पूर्व उपसभापति प्रकाशमान सिंहलाई पनि टिकट नदिइएको पार्टी प्रवक्ताले जानकारी दिएका छन् । यस्तै, बलबहादुर केसी (सोलुखुम्बु), डा. नारायण खड्का (उदयपुर–१), राजेन्द्रकुमार केसी (काठमाडौं–१०), हृदयराम थानी (सुर्खेत–२) लगायत नेताहरूले चुनाव नलड्ने घोषणा गरेका छन् । चार पटक कञ्चनपुर–३ बाट चुनाव लडेका रमेश लेखक, रुपन्देही–३ का बालकृष्ण खाँण, कैलाली–५ की आरजु राणा, मोरङ–२ की सुजाता कोइराला र तेह्रथुमकी सीता गुरुङले पनि टिकट पाएनन् ।

देउवा पक्ष केन्द्रित असन्तुष्टि
यस पटक टिकट नपाउने वा चुनाव नलड्ने अधिकांश नेता देउवा पक्षसँग जोडिएका छन् । कांग्रेसले दोलखा, सिरहा, सिन्धुपाल्चोक, कैलाली, ललितपुर, ओखलढुंगा, संखुवासभा, सिन्धुली, भक्तपुर र काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा समेत स्थापित अनुहारहरूलाई प्रतिस्थापन गरेको छ ।

पार्टी नेतृत्वले यसलाई ‘नयाँ पुस्ता र नयाँ राजनीतिक सन्देश’ को रूपमा व्याख्या गरे पनि कांग्रेसभित्र आन्तरिक असन्तुष्टि बढ्ने संकेत देखिएको छ । अब बाँकी ९ निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगिएपछि कांग्रेसको अन्तिम उम्मेदवार सूची सार्वजनिक हुनेछ, जसले पार्टीको नयाँ राजनीतिक दिशा अझ स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

हेर्नुस् उम्मेदवार सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *