शंकर पोखरेल र प्रकाण्डको क्षेत्रमा एमाले–माओवादीबीच चुनावी तालमेल
दाङ । नेकपा (एमाले) र नेकपा (माओवादी) बीच प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्रमा चुनावी तालमेल गर्ने राजनीतिक सहमति भएको छ । सहमतिअनुसार दाङ–२ र कालीकोटमा दुवै पार्टीले एक–अर्काका उम्मेदवारलाई प्रत्यक्षतर्फ समर्थन गर्ने भएका छन् भने समानुपातिक निर्वाचनमा भने आ–आफ्नै चुनाव चिन्ह कायम राखेर प्रतिष्पर्धा गर्ने निर्णय गरिएको छ ।
माओवादी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र एमाले महासचिव शंकर पोखरेलबीच भएको समझदारीअनुसार दाङ–२ मा माओवादीले प्रत्यक्षतर्फ उम्मेदवारी नदिई एमालेका उम्मेदवार तथा पार्टी महासचिव शंकर पोखरेललाई समर्थन गर्ने भएको छ । यही सहमतिका कारण माओवादीले दाङ–२ मा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता स्थगित गरेको माओवादी निकट अखिल (समाजवादी) का केन्द्रीय सचिव प्रकाश सीले जानकारी दिए ।
उता कालीकोटमा भने एमालेले माओवादीका उम्मेदवार खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई समर्थन गर्ने सहमति भएको छ । माओवादीका प्रवक्ता समेत रहेका प्रकाण्डले कालीकोटबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गराइसकेका छन् ।
माओवादी दाङका इन्चार्ज सविन पोखरेलका अनुसार दाङ–२ मा माओवादीका करिब १ हजार ६ सय पार्टी सदस्य र झण्डै ५ हजार शुभेच्छुक मतदाता रहेका छन् । उनले ती मतदाताले सहमतिअनुसार एमाले उम्मेदवार पोखरेललाई समर्थन गर्ने दाबी गरे । उनका अनुसार यो सहमति हाल मौखिक रहेको भए पनि केही दिनभित्रै लिखित रूपमा टुंग्याउने तयारी भइरहेको छ ।
यद्यपि, एमालेका शीर्ष नेताहरूले यस विषयमा औपचारिक प्रतिक्रिया दिन चाहेका छैनन् । माओवादी पक्ष भने दुई क्षेत्रमा आपसी समर्थन मात्रै भएको र समानुपातिक मत भने आफ्नै चुनाव चिन्हमा हाल्नुपर्ने स्पष्ट नीति रहेको बताइरहेको छ। उल्लेखनीय छ, विप्लव नेतृत्वको माओवादी यसअघि (स्थानीय तहको पछिल्लो निर्वाचनबाहेक) लामो समयसम्म संसदीय निर्वाचन बहिष्कार गर्दै आएको थियो । यस पटक भने प्रकाण्डको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचनमा सक्रिय सहभागिता जनाउँदै एमालेसँग सीमित क्षेत्रीय तालमेल गरेको छ ।
