ओलीको गढमा बालेनको रणनीति : एमाले–कांग्रेसका नेता तान्दै, समूह–समूहमा भेटघाट
झापा । झापा क्षेत्र नम्बर–५ मा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लिएर राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत गढ मानिएको यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को उम्मेदवारीले नयाँ राजनीतिक तरङ्ग सिर्जना गरेको छ ।
यसैबीच नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडा ले संगठन परित्याग गर्दै बालेन शाहलाई समर्थन गर्ने घोषणा गरेका छन् । खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत २०८२ माघ ७ गतेदेखि आफू राष्ट्रिय युवा संघ र नेकपा (एमाले) को संगठित सदस्य नरहेको स्पष्ट पारेका हुन् ।
उनले लेखेका छन्, ‘परिवर्तनलाई आत्मसात् गर्दै झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाएको छु ।’ खतिवडाको यो निर्णयलाई दमकको राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।
एमाले मात्र होइन, नेपाली कांग्रेसभित्र पनि बालेनको उम्मेदवारीले हलचल ल्याएको देखिन्छ । यसअघि मंगलबार नेपाली कांग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईले समेत बालेनलाई सघाउने घोषणा गर्दै पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका थिए । उनले साधारण सदस्य समेत नरहने गरी कांग्रेस परित्याग गरेका हुन् ।
बालेनको फरक चुनावी रणनीति
राजनीतिक समर्थन मात्र होइन, बालेन शाहको चुनावी शैली पनि झापा–५ मा चर्चाको विषय बनेको छ । बुधबार बिहानदेखि दमकमा घरदैलो तथा मतदाता भेटघाट थालेका बालेनले परम्परागत व्यक्तिगत भेटघाटभन्दा फरक शैली अपनाएका छन् । उनले समूहगत भेटघाट प्रणाली लागू गर्दै प्रत्येक समूहलाई अधिकतम १० मिनेट मात्र समय दिने व्यवस्था गरेका छन् ।
अत्यधिक भीड, समय व्यवस्थापन र धेरै मतदातासँग संक्षिप्त संवाद गर्नका लागि यस्तो नीति अपनाइएको उनको सचिवालयले जनाएको छ । दमकस्थित रास्वपा कार्यकर्ता लक्की सिटौला को निवासमा बास बसेका बालेनलाई भेट्न बिहानैदेखि मतदाताहरूको ठूलो भीड लागेको थियो । काठमाडौँ महानगरपालिकाका पूर्व मेयर समेत रहेका बालेनप्रति स्थानीय मतदाताको उत्साह उल्लेखनीय देखिएको छ । यद्यपि, बुधबारका भेटघाटहरू परिचयात्मक संवादमै सीमित राखिएका थिए ।
रास्वपा झापा–५ का क्षेत्रीय संयोजक भेषराज भट्टराई का अनुसार बालेनको चुनावी अभियान औपचारिक रूपमा सुरु भइसकेको छ, यद्यपि विस्तृत कार्यक्रम तालिका सार्वजनिक भइसकेको छैन । झापापछि मोरङ, सुनसरी तथा पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङसम्म पुगेर चुनावी अभियान विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
ओली–बालेन : कडा प्रतिष्पर्धाको संकेत
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट उम्मेदवारी दर्ता गराइसकेका छन् । ओली यस क्षेत्रबाट निरन्तर विजयी हुँदै आएका छन् । तर यस पटक एमाले र कांग्रेस दुवै पार्टीका प्रभावशाली नेता–कार्यकर्ताहरू बालेनतर्फ आकर्षित हुन थालेपछि ओली र बालेनबीच कडा र रोचक प्रतिष्पर्धा हुने संकेत देखिएको छ । झापा–५ मा देखिएको यो राजनीतिक पुनर्संरचनाले आगामी निर्वाचनलाई थप चासो र बहसको केन्द्रमा ल्याएको छ ।

