`

रवि लामिछानेको आग्रह : आक्रोश मतबाट व्यक्त गरौं

Nepal One HD ७ माघ २०८२ १३:५५
निर्वाचन विषेश

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावी प्रतिष्पर्धालाई शान्त, मर्यादित र स्वस्थ बनाउन पार्टीका नेता–कार्यकर्तालाई संयमित भएर अघि बढ्न निर्देशन दिएका छन् । चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आचारसंहिता पूर्ण रूपमा पालना गर्न, असन्तुष्टि र आक्रोशलाई मतमार्फत अभिव्यक्त गर्न आग्रह गरेका छन् ।

लामिछानेले नतिजा जे आए पनि स्वीकार्ने मानसिकता बनाउनु पर्ने उल्लेख गर्दै सबै राजनीतिक दललाई भड्काउने र उत्तेजित गतिविधिबाट टाढा रहन आग्रह गरे । ‘स्वस्थ प्रतिष्पर्धा हुनुपर्छ । कुनै पनि दलका नेता–कार्यकर्ता उत्तेजित नहुन्’, उनले भने, ‘अरू दलका नेता–कार्यकर्ताप्रति पनि सम्मानजनक व्यवहार देखाउनु पर्छ ।’

यसैक्रममा उनले आफूविरुद्ध चलेका मुद्दा र अदालती प्रक्रियाबारे पनि धारणा राखे। जनकपुरबाट पर्सा हुँदै चितवन पुगेपछि बुधबार काठमाडौं फर्कदै गर्दा भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले अदालतप्रतिको सम्मान अनिवार्य भएको बताए । आफूविरुद्ध नचाहिने अभियोजनहरू भएको दाबी गर्दै उनले भने, ‘तर अदालतको विकल्प छैन । जे जस्तो भए पनि अदालती प्रक्रियालाई स्वीकार र सम्मान गर्नुपर्छ ।’

अदालतका विषयमा सडकबाट बहस गर्नु उपयुक्त नहुने उनको भनाइ थियो । ‘अदालतप्रतिको गलत टिप्पणी गर्नु हुँदैन । अदालतका बहसहरू सडकमा आउनु राम्रो होइन’, उनले स्पष्ट पारे । धेरै मुद्दाका कारण मानसिक दबाब महसुस भए पनि अदालतप्रति आशा र भरोसा कायम रहेको उनले बताए ।

चुनावी प्रसंगमा पुनः जोड दिँदै चितवन–२ बाट निर्वाचनमा होमिएका लामिछानेले नतिजा स्वीकार्ने तयारीसहित मैदानमा उत्रिएको बताए । ‘प्रतिष्पर्धा स्वस्थ होस् । चुनावपछि पनि लोकतान्त्रिक संस्कार कायम रहनु पर्छ’, उनले भने । चितवनप्रति आशावादी देखिएका उनले जिल्लामा घण्टी चुनाव चिह्नप्रति बढ्दो आकर्षण देखिएको दाबी गर्दै ‘चितवनले सुरुवातमै उत्साहजनक संकेत दिएको’ बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *