`

‘आसन्न निर्वाचन संविधान, लोकतन्त्र र राष्ट्र जोगाउने निर्णायक संघर्ष’

Nepal One HD ७ माघ २०८२ १५:२८
निर्वाचन विषेश

काठमाडौं । नेकपा (एमाले) का नेता आनन्द पोखरेलले आगामी निर्वाचन संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य जोगाउने निर्णायक संघर्ष भएको बताउँदै पार्टीको विजयका लागि एकताबद्ध हुन आह्वान गरेका छन् । माघ ६ गते मनोनयन दर्तासँगै देश निर्वाचनको निर्णायक मोडमा पुगेको उल्लेख गर्दै पोखरेलले यो निर्वाचन केवल प्रतिनिधि चयनको प्रक्रिया मात्र नभई राष्ट्रको दिशानिर्देश गर्ने ऐतिहासिक अवसर भएको धारणा राखेका छन् ।

उनले वर्तमान अवस्थामा राष्ट्रियता कमजोर बनाउने, संविधानमाथि प्रहार गर्ने र जनताको भरोसा तोड्ने प्रयास भइरहेको उल्लेख गर्दै यस्ता चुनौतीका बिच नेकपा (एमाले) जनताको आशा, भरोसा र संघर्षको नेतृत्वकर्ता बनेर उभिएको बताए। पोखरेलका अनुसार नेकपा (एमाले) ले यस निर्वाचनलाई प्रतिष्पर्धामार्फत श्रेष्ठता हासिल गर्ने वर्गसंघर्षको महत्त्वपूर्ण कडीका रूपमा लिएको छ । उनले निर्वाचनलाई अराजकता, विध्वंस र अस्थिरताविरुद्धको निर्णायक लडाइँको संज्ञा दिँदै श्रमिक, किसान, युवा, महिला र आम नागरिकको हक–अधिकार सुरक्षित राख्ने शक्ति एमाले नै भएको दाबी गरे ।

‘एमालेको जित भनेकै संविधानको जित हो, लोकतन्त्रको जित हो र राष्ट्रको उज्यालो भविष्यको सुनिश्चितता हो,’ पोखरेलले भने । उनले यस ऐतिहासिक घडीमा नेकपा (एमाले) को विजय अपरिहार्य रहेको जोड दिए । नेता पोखरेलले सबै नेता, कार्यकर्ता, शुभेच्छुक र सचेत नागरिकलाई आपसी एकता, अनुशासन र दृढ संकल्पका साथ निर्वाचन अभियानमा जुट्न आग्रह गरे । घर–घरमा एमालेको विचार पुर्‍याएर जनताको विश्वास जित्नुपर्ने आवश्यकता औँल्याउँदै उनले निर्वाचनलाई ऐतिहासिक विजयमा रूपान्तरण गर्नुपर्ने धारणा राखे । उनले ‘संविधान बचाऔँ, लोकतन्त्र जोगाऔँ, देशको भविष्य सुरक्षित गरौँ’ भन्ने आह्वान गर्दै समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि नेकपा (एमाले) लाई विजयी बनाउन सबैलाई एकताबद्ध हुन आग्रह गरे ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *