स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो, राप्रपाको आपति
काठमाडौं । साइबर ब्युरोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता स्वागत नेपाललाई सोधपुछका लागि बोलाएको छ । ब्युरोको टोलीले उनलाई फोन गरी कार्यालयमा बोलाएको हो । उनीमाथि केही विषयमा बुझ्नका लागि बोलाइएको प्रवक्ता एवं एसपी दीपकराज अवस्थीले जानकारी दिए ।
‘गम्भीर विषय होइन, केही विषयमा बुझ्नका लागि उहाँलाई बोलाइएको हो,’ उनले भने । नेपालले केही समयअघि नेपाली सेनाले स्थितिमा नियन्त्रणमा लिएर नागरिक सरकार बनाउनु पर्छ भनेर टिप्पणी गरेका थिए । उनी राप्रपाबाट झापा–२ मा उम्मेदवार छन् । राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले पार्टीका उम्मेदवार स्वागत नेपाललाई साइबर ब्युरोले बोलाएकोमा विरोध जनाएका छन् ।
‘पृथ्वीनारायण शाहले अंशबण्डा गरेर देश टुक्राउने आफ्नै परिवारका र सगोत्रीलाई पनि टुक्र्याएका थिए अहिले पनि देश टुक्रयाउन खोज्नेलाई टुक्राउनु पर्छ, म पृथ्वीनारायण शाह जस्तै आफ्नै परिवारको भएपनि देश टुक्रयाउन खोज्नेलाई टुक्राउँछ भनेको विषयमा पक्राउ गर्न खोजिएको रहेछ,’ प्रवक्ता श्रेष्ठले भनेका छन् । उनले अनावश्यक दुःख दिन खोजेको र चुनावी गति अवरूद्ध गर्ने प्रयास सह्य नहुने पनि बताएका छन् ।
