`

मन्त्री बनेकोबारे कुलमानको जवाफ : परिस्थितिले जिम्मेवारी लिन वाध्य बनायो

Nepal One HD १० माघ २०८२ १०:०१
प्रमुख खबर

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले गैरदलीय अन्तरिम सरकारमा आफ्नो सहभागिताबारे उठिरहेका आलोचना र टिकाटिप्पणीप्रति धारणा सार्वजनिक गरेका छन् । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफूलाई लक्षित गर्दै फैलाइएका भ्रमपूर्ण टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले सामाजिक सञ्जालमार्फत आफ्नो पक्ष राखेका हुन् ।

घिसिङका अनुसार अन्तरिम सरकारमा मन्त्री बन्नुअघि नै उनले तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष गैरदलीय सरकारमा आफ्नो सहभागिता उपयुक्त नहुन सक्ने विषय स्पष्ट रूपमा राखेका थिए । तर आन्दोलनपछिको असहज राजनीतिक अवस्था, राज्य संरचनाको लगभग शून्य अवस्था र युवा पुस्ता—विशेषगरी जेनजी आन्दोलनमा सहभागी युवाहरूको आग्रहका कारण उनले जिम्मेवारी स्वीकार गरेको बताएका छन् ।

उनले लेखेका छन्, ‘गैरदलीय सरकार भएकाले मेरो सहभागिता उपयुक्त नहुन सक्छ भन्ने कुरा मैले सुरुमा नै सम्माननीय प्रधानमन्त्रीसमक्ष राखेको थिएँ । तर तत्कालीन परिस्थितिमा मेरो भूमिका आवश्यक रहेको र भविष्यमा राजनीतिमा प्रवेश गर्नुपरेमा राजीनामा दिएर जान सकिने आश्वासनपछि मैले जिम्मेवारी सम्हालेको हुँ ।’

घिसिङले प्रधानमन्त्री सुशीला कार्कीले पनि यस विषयलाई विभिन्न सार्वजनिक मञ्चहरूमा उल्लेख गर्दै आएको दाबी गरेका छन् । आन्दोलनपछि देशको प्रशासनिक र संरचनात्मक अवस्था कमजोर बनेको समयमा चुनौती स्वीकार गर्दै आफूले जिम्मेवारी लिएको र आफ्नो अडान स्पष्ट राखेर काम गरेको उनको भनाइ छ ।

राजनीतिक विवाद उठेपछि आफूले पदबाट राजीनामा दिएको स्मरण गराउँदै घिसिङले आफू पदलोलुप नभएको स्पष्ट पारेका छन् । ‘म पदको पछि लाग्ने व्यक्ति होइन, राज्यले दिएको जिम्मेवारी पूरा गर्ने मान्छे हुँ’, उनले लेखेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेको ११५ दिनको अवधिमा भएका कामहरूले आफ्नो जिम्मेवारीबोध प्रमाणित गर्ने घिसिङको दाबी छ ।

उनले आफ्नो विरुद्ध नियोजित रूपमा बदनाम गराउने उद्देश्यले फैलाइएका भ्रमपूर्ण प्रचार र टिकाटिप्पणीबाट प्रभावित नहुन आम नागरिकलाई आग्रह गरेका छन् । उज्यालो नेपाल निर्माणका लागि आफ्नो जीवन राजनीतिमा समर्पित गर्दै निरन्तर सक्रिय रहने प्रतिबद्धता पनि उनले दोहोर्‍याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *