`

सकियो समानुपातिकको मतपत्र छपाइ, प्रत्यक्षको शुरू

Nepal One HD १३ माघ २०८२ ८:११
निर्वाचन विषेश

काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सकिएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजारप्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो ।

केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले समानुपातिकतर्फको मतपत्र छपाइ पूरा भएपछि प्रत्यक्षतर्फको शुरू भएको जानकारी दिए । उनका अनुसार केन्द्रले सोमबारदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ शुरू गरेको छ । केन्द्रले यसअघि १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई पठाइसकेको थियो । ती मतपत्र मतदाता सचेतना तथा अन्य कामका लागि प्रयोग भइरहेका छन् ।

यसैगरी, नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत् बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।

आयोगले बैंक खाता बन्द गर्न लगाउँदासम्म सञ्चालन हुनेगरी उक्त आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा खाता खोल्न सकिने उल्लेख गरिएको छ । आमनिर्वाचन अभियान समूहका नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्नसक्ने गरी खाता खोल्ने व्यस्था गरिएको छ ।

प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने समानुपातिक एवं प्रत्यक्ष उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारको छुट्टै खाता खोली सञ्चालनको व्यवस्था मिलाउन केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *