यसरी जिल्ला–जिल्ला पठाइँदैछ फोटोसहितको नामावली {तस्वीरहरु}
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि यतिबेला निर्वाचन आयोगमा कर्मचारीहरूलाई भ्याइ नभ्याई छ । अहिले आयोगमा फोटोसहितको नामावली जिल्लाजिल्ला पठाउने कार्य भइरहेको छ । पहिलो चरणमा यो काम सकिएपछि मतदाता नामावली पनि जिल्ला पठाउने कार्य सुरु हुने आयोगले जनाएको छ । प्रतिनिधि सभा निर्वाचन आउन ३६ दिन मात्रै बाँकी छ ।
निर्वाचनका लागि आवश्यक तयारीका लागि निर्वाचन आयोगले धमाधम काम गरिरहेको छ । आयोगले मतपत्र छपाई कार्यलाई पनि तीव्रता दिएको छ । छपाइसम्बन्धी काम आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट गराउँछ । समानुपातिक तर्फको मतपत्र छाप्ने काम सम्पन्न भइसकेको छ। अब प्रत्यक्षतर्फको सुरू भएको छ ।
यसबीच आयोगले फोटो सहितका मतदाता नामावली जिल्ला–जिल्लामा पठाउने तयारी गरेको छ । बुधबार आयोगका कर्मचारीहरू फोटोसहितका नामावली प्याकिङ गर्न व्यस्त थिए । मतादाता नामावलीपत्र मतदान केन्द्र अनुसार मिलाउनेदेखि ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ । आयोगले जिल्ला–जिल्लामा पठाएको नामावलीपत्र त्यहाँबाट मतदान केन्द्रहरूमा पठाइन्छ । उक्त नामावलीमा उल्लेखित व्यक्तिहरूले मतदान गर्न पाउने छन् ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

