हर्क साम्पाङको स्पष्टीकरण– चुनावी प्रचारमा बालबालिका प्रयोग गरेको साँचो होइन
काठमाडौं । श्रम संस्कृति पार्टीले बालबालिकालाई चुनावी प्रचारप्रसारमा प्रयोग गरेको भन्ने आरोप असत्य, कपोलकल्पित र दुराशयपूर्ण भएको दाबी गर्दै निर्वाचन आयोगमा औपचारिक स्पष्टीकरण पेश गरेको छ।
पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)को हस्ताक्षरसहित बुधबार निर्वाचन आयोगमा बुझाइएको पत्रमा पार्टीले बालबालिकालाई कुनै पनि अवस्थामा निर्वाचन प्रचारमा प्रयोग नगरेको स्पष्ट पारेको छ।
स्पष्टीकरणमा सामाजिक सञ्जालमा सार्वजनिक भएका केही तस्बिर र भिडियोहरूलाई आधार बनाएर लगाइएको आरोप वास्तविकताभन्दा फरक र भ्रामक रहेको उल्लेख छ। ती सामग्रीहरू घटनाको यथार्थभन्दा ‘नाटकीय प्रस्तुति’ मात्र हुन सक्ने भन्दै पार्टीले यस्ता सामग्रीले जनमतलाई गलत दिशामा लैजान सक्ने चेतावनी दिएको छ।
पत्रमा अध्यक्ष राईले आफूले ‘श्रमदानको नयाँ आर्थिक मोडेल’ प्रवर्द्धन गर्ने क्रममा खिचिएका आफ्ना तस्बिर प्रयोग गरी टी-शर्ट छापिएको स्वीकार गरेका छन्। तर, ती टी-शर्ट बालबालिकालाई चुनावी प्रचारका लागि नदिइएको र नलगाउन निर्देशन दिइएको दाबी गरिएको छ।
कतिपय अवस्थामा श्रमदानमा सहभागी अभिभावकहरूले आफ्ना बालबालिकालाई साथमा ल्याउँदा उनीहरूले टी-शर्ट लगाएको हुनसक्ने उल्लेख गर्दै त्यसलाई चुनावी प्रचारसँग जोड्नु गलत भएको भनिएको छ।
स्पष्टीकरणमा भनिएको छ, “मेरो फोटो छापिएको टी–शर्ट लगाएका बालबालिकाहरू देखिएको भए पनि उनीहरूलाई कुनै प्रकारको राजनीतिक गतिविधि, प्रचार, नारा, झण्डा वा अन्य कार्यमा संलग्न गराइएको छैन।”
पार्टीले आफूलाई बालबालिकाको राजनीतिक प्रयोगसम्बन्धी कुनै पनि उजुरीबारे पूर्व जानकारी नभएको र यस्ता आरोपले व्यक्तिगत तथा पार्टीको छविमा क्षति पुर्याउने उद्देश्य राखेको आरोप लगाएको छ।
विगतमा समेत सामाजिक सञ्जालमार्फत भ्रामक भिडियो भाइरल गराएर चरित्रहत्या गर्ने प्रयास भएको उदाहरण दिँदै पार्टीले अहिलेको उजुरी पनि त्यही प्रकृतिको भएको दाबी गरेको छ।
श्रम संस्कृति पार्टीले निर्वाचन आयोगसँग आफू वा पार्टीविरुद्ध कारबाही आवश्यक नपर्ने निष्कर्षमा पुग्न आग्रह गरेको छ। यदि कसैले बालबालिकालाई जबर्जस्ती प्रचारमा लगाएको, निर्देशन दिएको वा प्रलोभन दिएको ठोस प्रमाण पेश गर्न सके कारबाही स्वीकार्य हुने पनि पत्रमा उल्लेख गरिएको छ।
