कम्युनिस्ट र कांग्रेसको संयुक्त आन्दोलनकै परिणामस्वरूप आज समाजले लोकतान्त्रिक अधिकार प्राप्त गरेको हो – ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सहिद दिवसको अवसरमा अमर शहीदहरूको बलिदानलाई स्मरण गरेका छनत् । शुक्रबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले सहिद दिवस आजको पुस्तालाई क्यालेन्डरको एउटा मितिजस्तो मात्र लाग्न सक्ने भए पनि इतिहासतर्फ फर्केर हेर्दा अहिले उपभोग गरिरहेको स्वतन्त्रता कसरी प्राप्त भयो भन्ने कुरा प्रष्ट हुने बताएका हुन् ।
उनले लेखेका छन् – आज माघ १६ – शहीद दिवस। आजको समयमा उभिएर हेर्दा यो दिन केवल क्यालेन्डरको एउटा मिति जस्तो लाग्छ। तर अलि अगाडिको समय कस्तो थियो भनेर हेर्ने हो भने हामीले अहिले उपभोग गरेको स्वतन्त्रता कसरी प्राप्त भएको भन्ने थाहा पाउँछौं।वि.सं. १९९७ मा प्रजातन्त्रको आवाज उठाउने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई राणा शासनले मृत्युदण्ड दियो।
निरङ्कुश र जहानियाँ शासनको ठाउँमा आजको लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीऊ त्यसरी रोपिएको थियो। कम्युनिस्ट र कांग्रेसको संयुक्त आन्दोलनको उपज हो आज समाजले पाएको लोकतान्त्रिक अधिकार। यस ऐतिहासिक विरासतलाई स्मरण गर्दै अमर शहीदहरू दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। अमर शहीदहरूका बलिदानको मूल्यलाई हामी कहिल्यै भुल्ने छैनौं, हाम्रो राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्ने छौं।
