जेन–जी विद्रोहमा जलाइएका घर पुग्दा पूर्वगृहमन्त्री लेखक ‘निशब्द’ (भिडियो)
काठमाडौं । जेन–जी विद्रोहको क्रममा जलाइएको कञ्चपुरको वेदकोट–८ मा स्थित पुख्र्यौली घर पुग्दा पूर्वगृहमन्त्री रमेश लेखक उनी निशब्द भए ।
आगजनी र तोडफोडले ध्वस्त घरको भुइँतलादेखि माथिल्लो तलासम्मै सोमबार अवलोकन गरे । तर, उनी बोलेनन् । गत २४ भदौमा जेन–जी विद्रोहीहरूले जलाएर ध्वस्त बनाएको घरमा उनी झण्डै पाँच महिनापछि गएका हुन् ।
यो घरसहित महेन्द्रनगरमा अर्को घर बुबाले दुःखले बनाएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई लेखकले १४ पुसमा जवाफ दिएका थिए ।
काठमाडौंको नैकापको घर पनि बुबाले आर्जन गरेको सम्पत्तिबाट बनाएको उनको जवाफ थियो । तर, विद्रोहीहरूले घर जलाएपछि पीडाले आफ्नी आमाको निधन भएको बताएका थिए । भदौ २४ गतेको घटनामा प्रदर्शनकारीको आक्रमणबाट जोगाउन सिकिस्त बिरामी आमालाई अक्सिजनविना नै सार्नुपरेको दुःखेसो पोखेका थिए ।
‘मेरी वृद्ध र अक्सिजन लिइरहनुपर्ने सिकिस्त बिरामी आमालाई लामो समय अक्सिजनबिना नै राखी अस्पताल पुर्याउँनु परेको कारणले केही दिनपछि दिवङ्गत हुनुभयो,’ उनले भनेका थिए ।
लेखकले आगजनीमा आफ्नो घरसँगै १० वर्षे सशस्त्र द्वन्द्वपछिको शान्ति वार्ता, अन्तरिम संविधान र वर्तमान संविधान निर्माणका क्रममा सङ्कलन गरेका ऐतिहासिक टिपोट र दस्ताबेजहरू जलेर नष्ट भएको बताएका थिए ।
