`

हराएको ५५ वर्षपछि घरपरिवारसँग पुनर्मिलन

Nepal One HD २० माघ २०८२ २०:०९
समाचार

म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङका धनबहादुर तुलाचन हराएको ५५ वर्षपछि परिवारसँग पुनर्मिलन भएको छ ।

एक्काइस वर्षको उमेरमा लाहुरे हुने भन्दै घर छोडेर बेपत्ता हुनुभएका तुलाचन अहिले परिवारको सम्पर्कमा आउनुभएको छ । भारतको हिमाञ्चल प्रदेशको कुल्ली मुनाली भन्ने ठाउँमा स्याउ बगैँचामा काम गर्ने तुलाचन एकसाता अगाडि विभिन्न माध्यमबाट परिवारको सम्पर्कमा आएको उहाँका साहिला दाइ कृष्णप्रसाद तुलाचनले बताउनुभयो ।

“हामी अहिले मङ्गला गाउँपालिका–५ पाखुमा बस्दै आएका छौँ, लाहुरे हुने भनेर गएको भाइ घर आउने आश नै मारेका थियौँ, बूढेसकालमा हामीलाई खोजी गर्दै विभिन्न माध्यमबाट घर खोज्दै घरमा आएपछि हामीलाई सपनाजस्तै लागेको छ”, उहाँले भन्नुभयो । कतै नभेटिएपछि परिवारले नै माया मारिसकेको अवस्थामा धनबहादुर घर फर्किएपछि परिवारमा खुशियाली छाएको छ ।

धनबहादुरलाई दाइ कृष्णप्रसादले नागरिकता बनाउन आवश्यक प्रक्रियाका लागि सदरमुकाम बेनी आउनुभएको छ । तत्कालीन समयमा मल्कबाङबाट ठाडाखानी हुँदै बेनी आएर पैदलयात्रा र सवारीसाधनको प्रयोग गरी भारत पुगेको धनबहादुरको भनाइ छ । भारत पुगेपछि एउटा खुट्टामा चोट लागेर लामो समय आराम गर्नुपरेको र घर फर्किने अवस्था नबनेको धनबहादुरले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *