सुनको मूल्यमा उथलपुथल, दुई सातामै ५० हजारको छलाङ
काठमाडौं । पछिल्लो एक वर्षदेखि निरन्तर उकालो लागेको सुनको मूल्य पछिल्ला दुई सातायता चरम अस्थिर बनेको छ । माघ १५ र १६ गते मात्र तोलामा साढे २० हजार रुपैयाँले बढ्ने र घट्ने भएपछि नेपाली सुन बजारमा अभूतपूर्व उतार-चढाव देखिएको हो ।
माघ १५ गते सुनको मूल्य एकैदिन तोलामा साढे २० हजार रुपैयाँले बढ्दै हालसम्मकै उच्च तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो । तर, त्यसको भोलिपल्ट माघ १६ गते नै सोही परिमाणले घटेर तीन लाख १८ हजार ८०० रुपैयाँमा झरेको थियो ।
त्यसपछि पनि मूल्य घटबढको क्रम रोकिएन । आइतबार माघ १८ गते सुन तोलामा १८ हजार ८०० रुपैयाँले घट्दै तीन लाख रुपैयाँमा झर्यो । सोमबार माघ १९ गते झन् घटेर दुई लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भयो ।
मंगलबार माघ २० मा भने तोलामा तीन हजार ७०० रुपैयाँले बढ्दै दुई लाख ९० हजार ३०० पुगेको सुन बुधबार माघ २१ मा फेरि १४ हजार ४०० रुपैयाँले बढेर तीन लाख चार हजार ७०० रुपैयाँ कायम भएको छ ।
सुन अत्यधिक महँगो भएपछि ग्राहकहरू चाँदीतर्फ आकर्षित भएका छन् । माघ १५ गते चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेर सात हजार ५०५ रुपैयाँ पुगेको थियो । माघ २० गते चाँदीको मूल्य पाँच हजार ३३५ रुपैयाँ कायम भएको छ ।
वरिष्ठ उपाध्यक्ष शाक्यका अनुसार चाँदी नेपाली उपभोक्ताको क्रयशक्तिभित्र पर्ने भएकाले लगानी र सम्पत्तिका रूपमा राख्ने प्रवृत्ति बढेको छ । यद्यपि, चाँदीमा ‘कृत्रिम अभाव’ भएको गुनासो आए पनि उनले आयात समस्याका कारण आपूर्ति सहज नभएको स्पष्ट पारे ।
