टेलिकमसँग दुरसञ्चारका अध्यक्ष असन्तुष्ट, कार्यसम्पादन सुधार्न दिए निर्देशन
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले टेलिकमका कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै कार्यसम्पादन सुधार्न निर्देशन दिएका छन् ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को २२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले अहिलेको हिसाबले काम गर्दा स्थायित्व नहुने भन्दै धेरै भन्दा धेरै राजश्व संकलन गर्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिए । उनकाअनुसार अहिले टेलिकमले उठाइरहेको राजस्व खर्चको तुलनामा निकै कमजोर छ । त्यसलाई सुधारेर लैजानुपर्छ ।
अध्यक्ष भण्डारीले भने, ‘दीर्घकालिन योजना बनाएर टेलिकमले काम गर्न जरुरी छ । अहिले जसरी कामहरु भएको छ यसले लामोसमय दीगो हुन सक्दैन । अहिले ब्यान्डविथसहित धेरै क्षेत्रमा ठूलो खर्च भइरहेको देखियो । यो घटाउन सकिन्छ । रेभिन्यु कमाउन सक्दैनौँ भने अब टेलिकमले खर्च कम गर्नुपर्छ । खर्च कसरी कम गर्न सकिन्छ भन्ने सन्दर्भमा प्राधिकरणले सल्लाह दिनुपर्छ भने दिन तयार छौँ ।’
उनले दूरसञ्चार प्राधिकरण ऐन ल्याउनका लागि सञ्चार मन्त्रालयलाई आग्रह गरिएको बताउँदै छिट्टै नयाँ सांसद्बाट जारी हुनसक्ने बताए । भण्डारीले नेपाल टेलिकमलाई फाइभजी परिक्षण गर्न सहुलियत दिएको र परिक्षणपछि थप काम गर्न नसकेको भन्दै असन्तुष्टी जनाए ।
