पहिलो सन्तानको तुलनामा पछि जन्मने बच्चाले स्क्रिनमा बढी समय बिताउँछन् : अस्ट्रेलियाली अध्ययन
मेलवर्न। सामान्यतया ठूला दाजुभाइ र दिदीबहिनीको तुलनामा उनीहरूका साना भाइबहिनीहरूले स्क्रिनमा बढी समय बिताउने र शैक्षिक गतिविधिहरूमा कम समय बिताउने अस्ट्रेलियामा गरिएकोे एक नयाँ अनुसन्धानले देखाएको छ।
‘मोनास बिजनेस स्कूलको सेन्टर फर हेल्थ इकोनोमिक्स’ले अस्ट्रेलियामा गरेको एक अध्ययनका अनुसार पहिलो जन्मेका सन्तानको तुलनामा दोस्रो र तेस्रो जन्मेका बालबालिकाले प्रतिदिन क्रमशः नौ मिनेट र १४ मिनेट बढी स्क्रिनमा समय बिताउँछन् ।
“यो झट्ट सुन्दा सामान्य देखिए पनि पहिलो जन्मेका बच्चाको औसत दैनिक स्क्रिन समयको तुलनामा यो सात देखि १० प्रतिशतले बढी रहनेगरेको पाइएको छ।,” अनुसन्धानकर्ता दानुष जयवर्धनले भन्नुभयो ।
“एक हप्तामा उनीहरूले लगभग एक र १.५ अतिरिक्त घण्टा बढी स्क्रिन प्रयोग गर्दछन्,” उहाँले भन्नुभयो ।
“यो अतिरिक्त स्क्रिन समय अन्य गतिविधिहरूको लागतमा पनि आउँछ । विशेषगरी, पछि जन्मेका बच्चाहरूले समृद्ध गतिविधिहरूमा प्रतिदिन ११ देखि १८ मिनेट कम खर्च गर्छन् भने यो ठूला दाजुभाई र दिदीबहिनीहरूको तुलनामा ११–२० प्रतिशत कम हुन्छ,” जयवर्धनले भन्नुभयो। उहाँले समृद्ध गतिविधिहरू भनी पढ्ने, गृहकार्य गर्ने, बोर्ड गेम खेल्ने वा सङ्गीत वाद्ययन्त्र सिक्ने कुरालाई समावेश गर्नुभएको छ।
अध्ययनले दुई देखि १५ वर्ष उमेरका लगभग पाँच हजार ५०० अष्ट्रेलियाली बच्चाहरूको सर्वेक्षण तथ्याङुकलाई आधार बनाएर गरेको अध्ययनमा बच्चाहरूले उठ्नेदेखि सुत्ने समयसम्म आफ्नो समय कसरी बिताउँछन् भन्ने खोजी गरिएको थियो । अध्ययनमा गतिविधिहरू आमाबाबुसँग वा एक्लै गरिएका थिए कि थिएनन् भनेर पनि हेरिएको थियो ।
अध्ययनको निष्कर्षहरूले आमाबाबुको समय र ध्यान परिवार बढ्दै जाँदा बच्चाहरूको विकासलाई बढावा दिन घट्छ, र पछि जन्मेका बच्चाहरूले अधिक उदार अभिभावकत्वको अनुभव गर्छन् भन्ने देखाएको छ। उनीहरू (बछि जन्मेका सन्तति) लाई स्क्रिन प्रयोगको वरिपरि रहन बढी स्वतन्त्रता दिने गरिएको पाइएको अध्ययनले देखाएको छ।
अनुसन्धानकर्ताहरूले आमाबाबुलाई साना भाइबहिनीहरूसँग गुणस्तरीय समय बिताउन, सक्रिय रूपमा संवर्धन गतिविधिहरूलाई प्रोत्साहित गर्न र स्वस्थ विकासलाई समर्थन गर्न बच्चाहरूमा ‘स्क्रिन’ समयको वरिपरि लगातार नियमहरू कायम गर्न सुझाव दिएका छन् ।
