प्रधानमन्त्रीलाई कानुन आयोगको जानकारी
काठमाडौँ, २६ माघः नेपाल कानुन आयोगले संविधान पुनरावलोकनका लागि भइरहेको अध्ययनका विषयमा प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ ।आयोगका उपाध्यक्ष लक्ष्मीप्रसाद मैनाली र सचिव इन्दिरा दाहाल (भट्टराई)सहितको टोलीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्कीलाई भेटेर आयोगले संविधान पुनरावलोकनका विषयमा गरिरहेको अध्ययनबारे जानकारी गराएको हो ।
नेपालको संविधानमा हरेक १० वर्षमा पुनरावलोकन गरिने व्यवस्थाबमोजिम आयोगले त्यससम्बन्धी अध्ययन थालेको सचिव दाहालले जानकारी दिनुभयो । यसका लागि उपाध्यक्ष मैनालीको नेतृत्वमा अध्ययन समिति पनि गठन गरिएको थियो । आयोगको टोलीले प्रधानमन्त्री कार्कीसमक्ष कानुनी शब्दकोश पुस्तक पनि अर्पण गरेको थियो ।
विसं २००९ को बुच कमिसनको सिफारिसअनुसार २०१० सालमा स्थापना भएको यो संस्था नेपालका पुराना सार्वजनिक निकायमा पर्छ । कानुनको तर्जुमा, संहिताकरण तथा प्रचलित कानुनको संशोधन, एकीकरण र पुनरवलोकन गर्न तथा कानुन र न्यायसम्बन्धी विषयमा अध्ययन र अनुसन्धान गर्ने काम आयोगले गर्दछ ।
