`

राजनीतिसँगै व्यावसायिक उखुखेतीमा जमेका जनप्रतिनिधि

Nepal One HD २७ माघ २०८२ ८:४६
समाचार

कैलाली। टीकापुर नगरपालिका–८ का धनसिंह साउद कृषि क्षेत्रमा सम्भावना देखेका किसान हुनुहुन्छ ।राजनीतिसँगै कृषिबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण बन्नुभएका उहाँ बर्सेनि ६५ बिघाभन्दा बढी क्षेत्रफलमा खेती गर्नुहुन्छ । साउदले धानखेतीमात्र ३० देखि ३५ बिघामा गर्दै आउनुभएको छ ।

याम अनुसारको उत्पादनका साथै उन्नत बीउ उत्पादनलाई जोड दिँदै आउनुभएका उहाँले पछिल्लो समयमा उखुखेतीलाई प्राथमिकता दिन थाल्नुभएको छ ।

गत वर्ष उहाँले झन्डै ४५ बिघा उखुखेती गरेको जानकारी दिनुभयो । यस वर्ष थप आठ बिघा उखुखेती विस्तार गर्ने तयारी उहाँले गर्नुभएको छ । बर्दियाको राजापुर नगरपालिकामा स्थापना भएको राजापुर सुगर एन्ड केमिकल्स इन्डस्ट्रिजले किसानले उत्पादन गरेको उखु सहजै खरिद गर्न थालेपछि अन्य खेतीभन्दा उखुलाई प्राथमिकता दिएको साउद बताउनुहुन्छ ।

“एकपटकको लागानीले पछिसम्म फाइदा लिन सकिन्छ भने बजार खोज्नुपर्ने स्थिति छैन”, उहाँले भन्नुभयो, “मूल्य पनि राम्रो पाइने भएपछि अन्य बालीभन्दा उखुलाई बढी प्राथमिकता दिइएको छ ।” चिनी उद्योगले किसानको उखु प्रतिक्विन्टल रु ६९० मा खरिद गर्दै आएको छ । रु ६२० किसानले उद्योगबाट पाउँछन् भने प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले उखु किसानलाई अनुदान दिँदै आएको छ । उसो त साउदले यस वर्ष सात बिघा आलुखेती पनि गर्नुभएको छ ।

वडा नं ८ कै वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला उखुखेतीमा लामो समयदेखि लाग्नुभएको छ । दुई कार्यकाल वडाध्यक्षको जिम्मेवारीमा रहनुभएका उहाँ निर्वाचित पूर्व कृषि क्षेत्रमै आबद्ध हुनुहुन्थ्यो । कृषिसँगै राजनीति गर्दै आउनुभएका वडाध्यक्ष ठकुल्ला केही वर्ष पहिले गाउँमा गुदमिल सञ्चालन गर्दै आउनुभएको थियो । अहिले गुदमिल भने छैन । गत वर्षबाट उहाँले पनि पुनः उखुखेती विस्तार गर्नुभएको छ । सात बिघामा विस्तार गरिएको उखुखेती यस वर्ष थप विस्तार गर्ने योजनामा वडाध्यक्ष ठकुल्ला हुनुहुन्छ ।

“आम्दानी राम्रो भएपछि ममात्र नभई किसान उखुखेतीमा लाग्न थालेका छन् । मैले पनि विस्तार गर्दै लगेको छु”, उहाँ भन्नुहुन्छ, “बजारको सहजता र थोरै लगानीबाट राम्रो आम्दानी उखुखेतीले दिन थालेको छ ।”

राजनीति गरेर समाजसेवा भनेर मात्रै आर्थिक समृद्धि हासिल गर्न नसकिने भन्दै वडाध्यक्ष ठकुल्लाले उत्पादनलाई प्राथमिकतामा राखेर समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । “मैले समयको व्यवस्थापन गर्दै कृषिलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको छु । सिजनमा राम्रो आलु उत्पादन हुन्छ । मकै, धान, गहुँलगायतका बाली पनि लगाउँदै आएका छौँ । तर, पछिल्लो समय यस क्षेत्रमा उखुखेती लोकप्रिय बन्दै गएको छ ।” किसानले एक बिघामा ६०० क्विन्टलभन्दा बढी उखु उत्पादन गर्दै आएका छन् ।

टीकापुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने पनि लामो समयदेखि कृषि र व्यापारमा आबद्ध हुनुहुन्छ । उहाँ बर्सेनि ९–१० बिघा खेती लगाउनुहुन्छ भने २०५३ सालदेखि व्यापार गर्दै आउनुभएको छ । कृषि, व्यापारसहित राजनीतिमा आबद्ध न्यौपाने पनि राजनीतिले सन्तुष्टिमात्र मिल्ने बताउनुहुन्छ । “पैसा कमाउनका लागि व्यवसाय गर्नैपर्छ । व्यवसाय र राजनीतिलाई सँगसँगै लैजाँदा कुनै कुराको लोभ हुँदैन”, उहाँ भन्नुहुन्छ, “आज राजनीतिमा भन्दा खेतमा काम गर्दा सन्तुष्टि मिल्छ । हामीले काम गरेको देखेर गाउँका युवाहरूमा काम गर्नुपर्छ भन्ने मानसिकता बढेको छ ।”

न्यौपानेले अन्य खेतीसँगै उखुखेतीलाई विस्तार गर्दै लग्नुभएको छ । दुई बिघाबाट उखुखेती सुरु गर्दै आउनुभएका वडाध्यक्ष न्यौपाने यस वर्ष पुनः एक बिघा विस्तार गर्ने योजनामा हुनुहुन्छ । केही समय केराखेतीमा आकर्षित किसान पछिल्लो समय उखुखेतीमा आकर्षित हुँदै गएका छन् । लगानी सुरक्षित भएपछि किसानले उखुखेतीलाई प्राथमिकता दिन थालेको स्थानीय कृषक सुन्दर चौधरी बताउनुहुन्छ ।

राजापुर सुगर एन्ड केमिकल्स इन्डस्ट्रिजले उद्योगको क्षमताअनुसार वार्षिक ३० देखि ३५ लाख क्विन्टल उखु आवश्यक पर्ने उद्योगका प्रशासनशाखाका प्रमुख इन्द्र ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योगको पहुँचमा अहिलेसम्म छ–सात सय क्विन्टल उखुमात्र रहेको छ ।

पुस २२ गतेबाट चिनी उत्पादन सुरु गरेको उद्योग उखुको आपूर्ति पर्याप्त नहुँदा नियमित सञ्चालनमा ल्याउन नसकिएको प्रशासन प्रमुख ढकाल बताउनुहुन्छ । रु दुई अर्ब लागतमा निर्माण भएको उद्योगको वार्षिक ३५ हजार ५०० मेट्रिक टन चिनी उत्पादन गर्ने क्षमता रहेको छ ।

उहाँले उखुखेती विस्तारको काममा उद्योगले समेत काम गर्दै आएको बताउनुभयो । टीकापुर नगरपालिकालगायत क्षेत्रमा उद्योगले जग्गा भाडामा लिएर उत्पादन सुरु गरिरहेको बताउँदै ढकालले बर्सेनि सात हजार बिघामा उखुखेती आवश्यक पर्ने जानकारी दिनुभएको छ ।

“किसानलाई खेती विस्तारमा कम्पनीले काम गरिरहेको छ । अर्कातिर आफैँ पनि खेती विस्तार गर्दै आएको छ”, उहाँ भन्नुहुन्छ, “कामदार अभाव, यातायातको सहज पहुँचलगायतका समस्या छन् ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *