तामाकोशी बस दुर्घटना : दोषीलाई कारबाही र मृतक परिवारलाई क्षतिपूर्ति माग, मन्थलीमा सवारी ठप्प
काठमाडौं । बस दुर्घटनामा परी आफन्तहरूको मृत्यु भएपछि रामेछापको मन्थली बजार आसपासको क्षेत्रमा सवारी आवतजावत ठप्प पारिएको छ ।
मृतकका आफन्तहरूले दोषीमाथि कारबाही र मृतक परिवारलाई क्षतिपूर्तिको माग गर्दै सवारी अवरुद्ध पारेका हुन् । सवारी आवतजावत ठप्प पारिँदा मन्थली बजार र आसपासको क्षेत्रको जनजीवन प्रभावित भएको छ । यात्रुहरू बीच बाटैमा अलपत्र परेका छन् ।
मंगलबार काठमाडौंबाट रामेछाप हुँदै ओखलढुङ्गाको गाम्नाङतर्फ जाँदै गरेको पूर्वी अरनिको यातायात प्रालिको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । ८ जना घाइते भएका छन् ।
घाइतेमध्ये ७ जनाको धुलिखेलसहित काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा सामान्य घाइते भएका चालकलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएकामध्ये ८ जनाको शव मन्थली नगर अस्पतालको पोष्टमार्टम गृहमा र ४ जनाको शव रामेछाप अस्पतालमा राखिएको छ ।
तर, बस सञ्चालक कम्पनीका आधिकारिक प्रतिनिधि सम्पर्कमा नआएकाले पीडित परिवारका मागबारे सहमति जुट्न नसक्दा पोष्टमार्टम प्रक्रिया रोकिएको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बस सञ्चालकलाई बोलाइएको बताए ।
