अन्तिम राजा ज्ञानेन्द्रको स्वागतार्थ प्रदर्शनको तयारीपछि त्रिभुवन विमानस्थल हाताभित्र निषेधाज्ञा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गरेको हो ।
देशको अन्तिम राजा ज्ञानेन्द्र शाहको स्वागतार्थ राजसंस्थापक्षधर शक्तिहरूले प्रदर्शन गर्ने भएपछि सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरेको जनाएको छ ।
आज (बिहीबार)देखि जारी गरिएको निषेधाज्ञा एक महिनासम्म जारी रहने भएको छ । यससँगै विमानस्थल क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न पाइने छैन ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जारी गरेको आदेशमा भनिएको छ, ‘विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडक, आन्तरिक टर्मिनल क्षेत्र, अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्रलगायतको विमानस्थल हाताभित्रको सम्पूर्ण क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेधको आदेश जारी गरिएको छ ।’
आदेशमा विमानस्थलजस्तो अत्यन्त संवेदनशील क्षेत्र र आसपासको क्षेत्रमा भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभालगायतका विरोधका कार्यकमहरू आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनीजस्ता उच्छृङ्खल गतिविधि हुन सक्ने भनिएको छ ।
जानकारी गराउँदा गराउँदै गरिने विरोध कार्यक्रमबाट सरकारी सम्पत्तिमा क्षति पुगे आयोजकबाट क्षतिपूर्ति वापतको रकम असुल गरिने पनि चेतावनी दिएको छ ।
हालै राप्रपा वरिष्ठ नेता रवीन्द्र मिश्रले अन्तिम राजा ज्ञानेन्द्रको विमानस्थलमा भव्य स्वागतका लागि आह्वान गरेका थिए ।
