प्रधान सेनापतिद्वारा सातौँ संस्करणको युनिटी जर्नल विमोचन
काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाद्वारा आयोजित खुला सामरिक लेख रचना प्रतियोगिता–२०८२ मा छानिएका रचनाहरूको सँगालो युनिटी जर्नलको सातौँ संस्करणको विमोचन गर्नुभएको छ ।
महाशिवरात्रि तथा नेपाली सेनाको २६३औँ वार्षिकोत्सवका अवसरमा सो जर्नल प्रकाशन गरिएको हो । सेनाले राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय महत्त्वका सामरिक विषयहरूमा आधारित उत्कृष्ट लेख रचनाहरूलाई समावेश गरी युनिटी जर्नल प्रकाशन गर्दै आएको छ ।
खुला सामरिक लेख रचना प्रतियोगिता–२०८२ मा प्रथम र द्वितीय हुनुहुने लेखकहरू क्रमशः सहायक रथी माधव थापा र डा गीता थपलिया तथा तृतीय हुनुहुने सृजना आचार्य र सहायक रथी अर्जुन बस्नेतलाई प्रधानसेनापति सिग्देलले जङ्गीअड्डामा आयोजित समारोहमा नगद पुरस्कार तथा कदरपत्र प्रदान गर्नुभयो ।
सोही अवसरमा प्रधानसेनापतिले उक्त जर्नलको मूल्याङ्कन तथा सम्पादकमण्डलमा रहनुभएका सदस्यहरूका साथै लेखकलाई कदरपत्र प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त कार्यक्रममा प्राध्यापक डा ध्रुव कार्कीले जर्नल प्रकाशनको महत्त्वसम्बन्धी जानकारी गराउनुभएको थियो ।
यस किसिमको प्रतियोगिताबाट राष्ट्रका बौद्धिक तथा शिक्षित वर्गमा राष्ट्रिय सुरक्षाका विभिन्न आयाममा खोज र अध्ययन गर्ने बानीको विकास भई राष्ट्रप्रेम तथा राष्ट्रिय सुरक्षा सम्बन्धमा चासो तथा चिन्तन वृद्धि हुँदै जाने विश्वास सेनाले लिएको छ ।
विमोचन कार्यक्रममा बलाधिकृत, प्राध्यापक वर्ग, रथीवृन्द, विषयविज्ञ तथा सम्पादक मण्डल, लेखकहरूलगायत नेपाली सेनाका अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति रहेको थियो ।
