बाँकेमा तीन राजनीतिक दलका प्रतिबद्धतापत्र सार्वजनिक
नेपालगञ्ज। आगामी फागुन २१ गने हुने निर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक दलले धमाधम प्रतिबद्धतापत्र सार्वजनिक गर्न थालेका छन् ।
बाँकेमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । बाँकेको निर्वाचन क्षेत्र नं २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विवेककुमार श्रेष्ठले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उद्योग, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, विपद् न्यूनीकरण, वातावरण संरक्षण र सूचना प्रविधिको विकासका लागि स्थानीय सरकारको सहभागितामा साझा नीति तथा कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने बताउनुभयो ।
सो पार्टीले प्रतिबद्धतापत्रमा भेरी अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने, सीमावर्ती व्यापार, भन्सार र खुला सीमाबाट सिर्जित चुनौती समाधानका लागि सङ्घीय नीतिमा पहल गर्ने, शिक्षाको गुणस्तर सुधारका लागि गुरुयोजना निर्माण गर्ने, आकाशे पुल, निर्माणलगायत विषयलाई प्राथमिकतामा राखिएको छ ।
एमाले उम्मेदवार राईको प्रतिबद्धता
बाँकेको क्षेत्र नं २ का नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार मोहम्मद इस्तियाक राईले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।
प्रतिबद्धता पत्रमा पूर्वाधार तथा सहरी विकास, औद्योगिक, व्यापारिक र रोजगारी विकास, शैक्षिक विकास, स्वास्थ्य क्षेत्रको विकास, कृषि तथा अनुसन्धान, सामाजिक सुरक्षा, धर्म, संस्कृति संरक्षण, पर्यटन विकास, सुशासन र प्रविधि विकास, सामाजिक न्याय र समावेशी विकास, व्यवस्थित बसोबास, गरिबी न्यूनीकरण र मानव विकास, शिक्षा र सामाजिक जागरण, धार्मिक सद्भाव र सामाजिक एकता, पर्यटन, सहरी व्यवस्थापन र आर्थिक अवसर र लागुऔषध नियन्त्रण र सुरक्षित समाज शीर्षकमा विभिन्न बुँदा उल्लेख छ ।
राईले आधुनिक क्रिकेट रङ्गशाला निर्माण, नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि कूटनीतिक पहल, नेपालगञ्ज चक्रपथ, डुडुवामा बाढी र डुबान रोक्न तटबन्ध, राप्तीको पानी नेपालगञ्ज ल्याएर पिउने पानीको व्यवस्था गर्ने, नेपालगञ्जमा आकाशे पुल निर्माण गर्ने प्रतिबद्धता पत्रमा समावेश गर्नुभएको छ ।
नेकपाका युवा उम्मेदवार विष्टको प्रतिबद्धतापत्र
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट बाँके निर्वाचन क्षेत्र नं २ का युवा उम्मेदवार दीपेन्द्र विष्टले विभिन्न १४ शीर्षकमा छ पृष्ठ लामो प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।
प्रतिबद्धता पत्रको मूल आत्मा ‘भ्रष्टाचार शून्य बाँके–२’ अभियान रहेको देखिएको छ । विष्टले भ्रष्टाचारमुक्त क्षेत्र निर्माणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरिने उल्लेख छ ।
यसअन्तर्गत प्रविधिमा आधारित पारदर्शी प्रणाली लागू गर्ने, डिजिटल उजुरी प्रणाली सञ्चालन गर्ने, भ्रष्टाचारमा संलग्न व्यक्तिलाई तत्काल निलम्बन गरी कानुनी कारबाही अघि बढाउने व्यवस्था गर्नेजस्ता उपायलाई प्राथमिकतामा राखिएको छ । सुशासन, पारदर्शिता र आधुनिक प्रविधिलाई केन्द्रमा राखिएको यो अवधारणाले प्रशासनिक सुधारलाई राजनीतिक अठोटसँग जोड्ने प्रयास प्राथमिकतामा राखिएको छ ।
युवा उद्यमी विष्ट आफैँ पनि ‘आइक्यास’ नामक डिजिटल पे कम्पनीका सञ्चालक हुनुहुन्छ । उहाँको प्रतिबद्धतामा नेपालगञ्जलाई सूचना प्रविधिमैत्री सेवा र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने दृष्टिकोण प्रस्तुत गरिएको छ । “नागरिकका दैनिक कामलाई सहज बनाउन सिफारिस, कर भुक्तानी तथा अन्य सरकारी सेवा अनलाइनमार्फत उपलब्ध गराइनुपर्छ”, विष्टले भन्नुभयो ।
उहाँको प्रतिबद्धतामा, सबै शुल्क डिजिटल प्रणालीबाट तिरिने, फाइलको अवस्था नागरिकले आफैँ अनलाइनमार्फत हेर्नसक्ने व्यवस्था लागू गरिने उल्लेख छ । त्यसबाहेक युवा रोजगारी र उद्यमशीलता, पर्यटन र अर्थतन्त्र, बाढी समस्या र जोखिम व्यवस्थापन, कृषि, उद्योग र व्यापारिक हबलगायत विषय छन् । नेपाली कांग्रेस बाँकेले दुई दिनपछि प्रतिबद्धतापत्र सार्वजनिक गरिने जनाएको छ ।
