निर्धक्क भएर फागुन २१ गतेको मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आह्वान
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाका प्रबन्ध मिलाइसकिएकोले मतदातालाई निर्धक्क भएर फागुन २१ गते मतदान प्रक्रियामा भाग लिन आह्वान गरेका छन्।
गृहमन्त्री अर्यालको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्।
गृहमन्त्री अर्यालले चुस्त र भरपर्दो सुरक्षा प्रबन्धसहितको व्यवस्थामा मात्रै निर्वाचन हुने भएकोले सबै सम्बद्ध निकायको साथ, सहयोग र समन्वयमा निर्वाचन तोकिएकै मितिमै सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए।
यस्तै, बैठकमा तीन वटै सुरक्षा अङ्गका प्रमुख र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले गृहमन्त्री अर्यालसमक्ष सबै सुरक्षाका प्रबन्ध मिलाइँदै गएको र क्रमिक रूपमा जिल्लागत सुरक्षा रणनीतिलाई कार्यान्वयनमा लगिएको जानकारी गराएका थिए।
गृहमन्त्रीको सचिवालयका अनुसार बैठकमा केन्द्रीय निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन र फागुन २१ गते हुने निर्वाचनको समग्र तयारी सम्बन्धमा विस्तृत छलफल समेत गरिएको छ।
‘जुम एप’ मार्फत सञ्चालन गरिएको बैठकमा गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समितिका पदाधिकारी, ७ वटै प्रदेशका प्रमुख सचिव (प्रदेश कमान्ड पोस्ट प्रमुख) तथा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबाट प्रदेश र जिल्लागत सुरक्षा रणनीतिको कार्यान्वयन र निर्वाचन तयारीबारे जानकारी लिएका थिए। प्रदेश प्रमुख सचिव तथा प्रजिअ संयोजक रहने जिल्ला सुरक्षा समितिका पदाधिकारीबाट बैठकमा प्रस्तुतीकरण समेत भएको छ ।
