खेलकुदमा एनआरएनएको सहभागिता गराउने कांग्रेसको लक्ष्य
काठमाडौं। नेपाली कांग्रेसले नेपालको राष्ट्रिय टिममा गैरआवासीय नेपाली खेलाडीलाई पनि समावेश गर्ने लक्ष्य लिएको छ ।पार्टी सभापति गगनकुमार थापाले आज सार्वजनिक गरेको नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा यस्तो उल्लेख गरिएको छ ।प्रतिज्ञापत्रमा भनिएको छ, “गैरआवासीय नेपाली युवालाई नेपालका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा सहभागी गराई नेपालीत्वको भावना अभिवृद्धि गराउन र समग्र नेपालको खेलकुद क्षेत्रको विकास गर्न कानुनी व्यवस्था गर्छौं ।”
विश्वका अन्य देशहरूमा बाहिरका खेलाडीले देशको प्रतिनिधित्व गरिरहेका बेला नेपालमा भने यो व्यवस्था नहुँदा डायस्पोरामा दोस्रो र तेस्रो पुस्ताका युवा खेलाडीहरूले देशको प्रतिनिधित्व गर्न नपाएको उल्लेख गर्दै कांग्रेसले गैरआवासीय नेपालीलाई राष्ट्रिय खेलमा सहभागीता गराउन विद्यमान खेलकुद विकास ऐन संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताएको छ ।
