`

धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने

Nepal One HD ८ फागुन २०८२ १७:४४
अर्थ समाचार

काठमाडौं। ऐतिहासिक धरहराको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिने भएको छ ।

शुक्रवार संघीय सरकार र महानगरपालिकाबीच भएको छलफलले धरहराको हस्तान्तरण तथा सञ्चालन र व्यवस्थापन प्रक्रियाको अध्ययन गर्न तत्काल अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले धरहराको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी महानगरलाई दिन आवश्यक अध्ययन गर्न समिति गठन गर्ने निर्णय भएको जानकारी दिइन् । उनले धरहराको पार्किङ र सञ्चालनको ठेक्का लिएको निजी कम्पनीलाई कुनै पनि असर नपर्ने गरी अध्ययन गरेर निष्कर्ष निकाल्ने र सोहीअनुसार अघि बढ्ने निर्णय भएको बताइन् ।

धरहराको बेसमेन्ट पार्किङको व्यवस्थापन समेत काठमाडौं महानगरपालिकालाई दिने निर्णय छलफलले गरेको छ । महानगरपालिकाले न्युरोड क्षेत्रलाई नो पार्किङ जोन घोषणा गरी कार्यान्वयन गरिरहेको अवस्थामा धरहरामा निःशुल्क पार्किङको सुविधा गर्ने कार्यवाहक प्रमुख डंगोलको भनाइ छ ।

उनले भनिन्, ‘धरहरालाई काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्नुपर्छ भन्ने माग हामीले गर्दै आइरहेका छौँ । पहिले पनि धरहराको व्यवस्थापन तथा सञ्चालन काठमाडौं महानगरपालिकाले नै गर्दै आइरहेको हो । अहिले स्थानीय सरकारको रूपमा धरहरा व्यवस्थापन र सञ्चालन काठमाडौं महानगरपालिकाले गर्छ र त्यसका लागि तत्पर छ । आजको बैठकमा पनि यो अनुरोध रह्यो । धरहरा महानगरलाई हस्तान्तरण गर्ने प्रक्रिया र त्यसको सञ्चालनको बारेमा अध्ययन गर्नका लागि समिति गठन गर्ने निर्णय पनि आजको बैठकले गरेको छ । अर्को महत्वपूर्ण कुरा, न्यूरोड आफैंमा एउटा कमर्सियल एरिया हो । यहाँ धेरै व्यवसायहरू चलिरहेका छन् । त्यहाँ अहिले पार्किङ सडकमा गर्न पाइँदैन भन्ने छ । त्यसको कार्यान्वयन पनि भइरहेको छ । हामीले नो पार्किङ त भन्यौँ तर विकल्प दिन सकिरहेका छैनौँ । त्यसको महत्वपूर्ण विकल्प भनेको धरहराको अन्डरग्राउन्ड पार्किङ रहेको छ ।’

डंगोलले धरहराको व्यवस्थापन र हस्तान्तरण काठमाडौं महानगरपालिकालाई दिइए महानगरको आन्तरिक राजश्व बढ्ने विश्वास समेत व्यक्त गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *