गृहमन्त्री अर्याल र राष्ट्र संघका आवासीय संयोजकबीच भेट
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि संयुक्त राष्ट्र संघका नवनियुक्त आवासीय संयोजक लिला पिटर्स याहियाबीच गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा मन्त्री अर्यालले संयुक्त राष्ट्र संघले शासकीय सुधार, जलवायु परिवर्तन र स्थानीय तहहरूको क्षमता वृद्धिलगायतका क्षेत्रमा नेपाललाई पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे। साथै संयुक्त राष्ट्र संघसँगको सहकार्य आगामी दिनमा थप प्रगाढ हुने विश्वास व्यक्त गरे।
संयुक्त राष्ट्र संघका आवासीय संयोजक पिटर्स याहियाले नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता प्रदान गरिने बताउँदै नेपालमा लागू औषध नियन्त्रण, सीमा सुरक्षा, मानव बेचबिखनलगायतका क्षेत्रमा थप सहयोग र सहकार्य विस्तार गर्ने विषयमा चासो व्यक्त गरिन्।
शिष्टाचार भेटमा गृहमन्त्री अर्यालले फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनमा शान्ति–सुरक्षा कायम गरी भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गरेर लोकतन्त्रलाई संस्थागत गर्ने कार्य सरकारले तीव्र रूपमा गरिरहेको बताए।
