मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गरेर लोकतान्त्रिक आचरण कायम राख्नुपर्छः प्रवक्ता चालिसे
ललितपुर। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गरेर लोकतान्त्रिक आचरण कायम राख्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभा निर्वाचन २०८२ का सन्दर्भमा जानकारी दिन नेपाली कांग्रेसले आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता चालिसेले आचारसंहिता कसैबाट पनि उल्लङ्घन हुनुहुँदैन भन्दै जनताले भयरहित वातावरणमा मतदान गर्न पाउने वातावरण तयार गर्न सरकारसँग आग्रह गर्नुभयो ।
“चुनाव प्रचारका क्रममा आ–आफ्ना दलका नीति र मान्यता जनतासमक्ष राख्नु स्वाभाविक मानिन्छ, तर नेपालको बहुलता र एकतालाई कमजोर पार्ने विभाजनकारी अभिव्यक्ति, सामाजिक सद्भावमाथि गहिरो प्रहार तथा व्यक्तिगत रुपमा घृणा र द्वेष फैलाउन कार्य सर्वथा अनुचित हो, लोकतन्त्र हाम्रा आफ्नै वाणी, कर्म र आचरणले सुसंस्कृत हुँदै जाने हो, यसतर्फ सबै दल र नागरिक समाज प्रेरित हुनुपर्दछ”, उहाँले भन्नुभयो ।
प्रवक्ता चालिसेले नेपाली कांग्रेसले सदा झैँ निर्वाचनमा आचारसंहिताको पालनालाई प्रमुख प्राथमिकता दिएको जानकारी दिँदै पनि आचारसंहितालाई अवमूल्यन एवं उल्लङ्घन गर्नु आधारभूत लोकतान्त्रिक मूल्यमान्यताविपरीत हो भन्नुभयो ।
“निर्वाचन प्रचारप्रसारका क्रममा दलका नीति र मान्यता जनतासामु राख्नु उचित हो, बालक र नागरिकलाई राजनीतिक दलहरूले प्रयोग गर्नु अनुचित कार्य हो, कांग्रेस बालबालिकाको अधिकारलाई सम्मान गर्दै उनीहरुले सम्मानपूर्वक बाँच्न पाउने अधिकारको रक्षा गर्न आग्रह गर्दछ, आचारसंहिताविपरीतका घटनाबारे छानबिन गर्दै तत्काल कडाभन्दा कडा कारबाही गर्ने सवालमा कुनै विलम्ब नगर्न हामी निर्वाचन आयोगसमक्ष जोडदार माग गर्दछौँ”, उहाँले भन्नुभयो ।
प्रवक्ता चालिसेले लोकतन्त्रमा शासनको वैधताको स्रोत जनताको मत हो भन्दै जनताले भयरहित वातावरणमा आफ्नो मतदान गर्न पाउने अधिकारको पूर्ण सम्मान गर्न सरकार र सम्बन्धित पक्षसँग आग्रह गर्दछौँ भन्नुभयो ।
“अतिलोकप्रियता र प्रतिगमनका पक्षमा गैरजिम्मेवारी ढङ्गले आममनोविज्ञानलाई प्रभावित पार्ने तत्व शिथिल बन्दै गएका छन् नेपाली कांग्रेसप्रति चौतर्फी आकर्षण बढेको छ, विभिन्न दलमा उच्चस्तरको भूमिकामा रहेका राजनीतिक व्यक्तित्व, जनप्रतिनिधिसहित स्वतन्त्र उम्मेदवारको नेपाल कांग्रेसमा प्रवेश गर्ने लहर बढेको छ”, प्रवक्ता चालिसेले भन्नुभयो ।
“हामी सम्पूर्ण नागरिक, मतदाता, सञ्चार क्षेत्र, बुद्धिजीवि र न्यायप्रेमी समुदायसमक्ष निर्वाचनअघिको संवदेनशील परिस्थितिमा लोकतन्त्रको रक्षा र सम्वद्र्धनका पक्षमा तपाईहरुले देखाउनु भएको समर्थनका लागि कांग्रेस आभार प्रकट गर्दछौँ”, उहाँले भन्नुभयो । नागरिकको सुरक्षा गर्नु राज्यको दायित्व हो भन्दै नागरिक अधिकारको संरक्षण गर्न सम्पूर्ण संयन्त्र प्रयोग गर्न र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न आचारसंहिता पालनालाई प्राथमिकतामा राख्न निर्वाचन आयोग र सरकारलाई प्रवक्ता चालिसेले आग्रह गर्नुभयो ।
