प्रधानन्यायाधीश राउतद्वारा तनहुँ जिल्ला अदालत निरीक्षण
तनहुँ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज यहाँस्थित जिल्ला अदालतको निरीक्षण गर्नुभएको छ ।सो अवसरमा प्रधानन्यायाधीश राउतले तनहुँ जिल्ला अदालतका विभिन्न शाखाको निरीक्षण गर्दै सेवा प्रवाहका बारेमा जानकारी लिनुभयो ।
त्यसक्रममा प्रधानन्यायाधीश राउतले जनतालाई सहज र सरल रुपमा सेवाप्रवाह गर्न निर्देशन दिनुभएको छ । उहाँले अदालतप्रति आमनागरिकको भरोसा न्याय प्रणालीको मेरुदण्ड भएको उल्लेख गर्दै असहज परिस्थितिमा पनि सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभयो ।
तनहुँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायले तनहुँ अदालतमा जेनजी आन्दोलनबाट भएको क्षति, हाल प्रवाह भइरहेको सेवाबारेमा जानकारी गराउनुभएको थियो ।
अदालतका स्रेस्तेदार नन्दप्रसाद आचार्यले जेनजी आन्दोलनका क्रममा भएको तोडफोडले कार्यालय कक्ष, कागजात व्यवस्थापन तथा दैनिक कार्यसञ्चालनमा केही असहजता सिर्जना गरेको जानकारी दिनुभयो ।
यद्यपि, चुनौतीपूर्ण अवस्थाबीच पनि कर्मचारी र न्यायिक निकायको समन्वयमा सेवाप्रवाह नरोकिएको उहाँले उल्लेख गर्नुभयो । रासस
