बालेन सरकार भ्रष्टाचारविरुद्ध एक्सनमा नउत्रिए कांग्रेसको आवाज संसदमा बुलन्द
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसबाट सभापति गगन थापा भावी प्रधानमन्त्रीका उम्मेदवार थिए । तर, उनले चुनाव हारे । कांग्रेस सिंगो पार्टीले नै चुनाव हार्यो ।
कांग्रेसको यो हार इतिहासमै सर्मनाकलाग्दो हार हो । यो हारपछि नैतिकताको आधारमा सभापति गगन थापाले राजिनामा दिएका छन् । तर, उनको राजीनामा केन्द्रीय समिति बैठकबाट स्वीकृत हुन्छ कि हुँदैन ?
अर्कोतिर कांग्रेसभित्र दुईवटा धार पनि देखिन्छ । एउटा सभापति गगन थापा र अर्को निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको । कांग्रेसभित्र अब मिल्ती कसरी हुन्छ ?
अनि, संसदमा प्रमुख प्रतिपक्षीको हैसियतमा कांग्रेस कसरी प्रस्तुत हुन्छ ? यहीबीच ३६ वर्षे बालेन्द्र शाह प्रधानमन्त्री बन्दैछन् र शक्तिशाली सरकारको नेतृत्व गर्दैछन् ।
यस्तोमा शक्तिशाली बालेन सरकारलाई ‘चेक एन्ड ब्यालेन्स’ संसदबाट गर्न कांग्रेसको भूमिका कस्तो हुन्छ ? यिनै सवालमा नेपाली कांग्रेसका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नरेन्द्रकुमार केरुङसँग गरेको संवादको सम्पादित अंश :
०००
तपाईंलाई सबैभन्दा पहिले निकै कठिनताका साथ जित निकालेर प्रतिनिधिसभाकाे यात्रा तय गर्नुभएकोमा हार्दिक बधाई छ ।
धन्यवाद । यसको श्रेय समस्त पाँचथरवासी दाजुभाइ, दिदीबहिनीहरूलाई जान्छ, जसले आशीर्वाद दिनुभयो । यो सम्पूर्ण श्रेय र बधाई म पाँचथरवासीलाई समर्पण गर्न चाहन्छु ।
नेपाली कांग्रेसका उम्मेदवारहरू दुई पक्षसँग प्रतिस्पर्धा गर्छन् भन्ने सुनिन्छ । एक, पार्टीभित्रको असन्तुष्ट पक्ष, जो जित र हारमा निर्णायक हुन्छ । अर्को, अन्तरपार्टी उम्मेदवार । त्यसो हुनाले चुनावमा जाँदै गर्दा जित्छु भन्ने लागेको थियो ?
अँ… अरु जिल्लामा के भयो ? मैले अध्ययन गर्न बाँकी छ । पाँचथर जिल्लाको सन्दर्भमा चाहिँ अभूतपूर्व एकताका साथ हामी निर्वाचनमा होमियौँ । त्यसकारण यसपटक मैले त्यस्तो ‘फिल’ गरिनँ ।
निर्वाचनमा कांग्रेस पार्टीको तर्फबाट उम्मेदवार भएर पाँचथर जिल्ला प्रवेश गर्दै गर्दा मलाई ‘कन्फिडेन्ट’ थियो– निर्वाचनमा यसपटक जित्न सकिन्छ ।
कांग्रेस एकताबद्ध हुँदा जित निश्चित रहेछ ?
अवस्य ।
तपाईं त जितेर आउनुभयो प्रतिनिधिसभामा तर तपाईंकै सभापति गगन थापा जसको नेतृत्वमा तपाईंहरू चुनावमा जानुभएको थियो र उहाँ पराजित हुनुभयो र पराजयको नैतिक जिम्मेवारी लिँदै बुझाएको राजीनामा अब के हुन्छ ?
स्वाभाविक रूपबाट पार्टीको नैतिकवान चरित्र बोकेको नेतृत्वले पार्टीमा भएका यस्ता किसिमका घटनाक्रमहरूको जिम्मेवारी लिन्छ । यसले नेपाली कांग्रेसको राजनीति मात्रै होइन, नेपाली राजनीतिकै ‘मोरल हाई’ बनाउँछ । एउटा जिम्मेवार पार्टीको सभापतिले निर्वाचनमा हार भएकै हो, नेपाली कांग्रेस खुम्चिएकै हो, यो कुरालाई स्वीकार गर्दै अब यसको नैतिक जिम्मेवारी लिनुपर्छ भनेर राजीनामा दिनुभयो ।
यो अत्यन्तै राजनीतिक चरित्रलाई ‘हाई’ बनाउने, राजनीतिक नैतिकतालाई हाई बनाउने एउटा नजिर स्थापित गर्नुभएको छ । यो अत्यन्तै राम्रो भएको छ । नेपाली कांग्रेसको राजनीति र नेपालकै राजनीतिमा पनि एउटा पाठ हो भन्ने हामीले अनुभूत गरेका छौँ । यसकारणले उहाँको नैतिक जिम्मेवारी ग्रहण गर्ने यो कुरालाई हामीले अत्यन्तै सकारात्मक, पार्टीको सम्पत्ति र मुलुककै राजनीतिक सम्पत्तिको रूपमा ग्रहण गरेका छौँ । जहाँसम्म उहाँले दिनुभएको राजीनामाप्रतिको प्रतिक्रिया पार्टीभित्रको भन्ने छ । उसो त उहाँले अस्ति नै राजीनामा दिने तयारी गर्नुभएको हो ।
२६, २७ फागुनतिरै राजीनामाको कुराहरू आएका हुन् । तर, देशभरिबाट शुभचिन्तकहरू जो प्रजातन्त्रमा विश्वास गर्ने, लोकतन्त्रमा विश्वास गर्ने आम नागरिकहरू जसले चाहिँ राजनीतिक चेत राख्दछन्, उहाँहरूलगायत आन्तरिक रूपमा पार्टीभित्र पनि उहाँको त्यो राजीनामाको सन्दर्भलाई स्वीकार गरिएन । यो अवस्थामा गगन कुमार थापा पार्टीको केन्द्रीय सभापतिज्यूले राजीनामा दिनु हुँदैन र बरु सम्हालेर लानु पर्दछ । तर, राजीनामा आयो । यसलाई हामीले राजनीतिमा स्वाभाविक रूपमा नै लिनुपर्दछ र उहाँले दिनुभएको राजीनामाउपर के गर्ने ? भन्नेमा हाम्रो पार्टीको आफ्नै विधान छ । त्यो विधानको विधि र प्रक्रियाभित्र रहेर हामीले विषय प्रवेश गर्छौँ ।
अहिलेसम्मको वातावरण चाहिँ के छ भने उहाँले दिनुभएको राजीनामालाई यो निर्वाचनको हार अथवा अहिलेको जुन परिस्थिति आयो, यो परिस्थितिको जिम्मेवार उहाँ मात्रै होइन, हामी पनि हो । केन्द्रीय समिति डल्लै हो, प्रदेश कार्यसमितिहरू हो । जिल्ला कार्यसमितिहरू हो र मातहतका सबै निकायहरू, टोल कार्यसमितिसम्म र प्रत्येक क्रियाशील सदस्यहरूको पनि जिम्मेवारीको विषय हो ।
त्यसैले उहाँले नेपाली कांग्रेस पार्टीलाई अगाडि बढाउनको निम्ति जनताका पछिल्ला मुद्दाहरूलाई स्थापित गराउने प्रयत्न त गर्नुभएको होइन नि त । तर समयको चापले गर्दा हामी पुस ३० गते महाधिवेशन सम्पन्न गर्दै थियौँ, पुस ६ गते उम्मेदवारी दर्ता गर्न जिल्लाको निर्वाचन क्षेत्रहरूमा पुग्नुपर्ने भयो । त्यो परिस्थितिमा पनि हामीले निर्वाचनमा कांग्रेसलाई अगाडि बढायौँ । हामीले १५ दिन होइन, १ महिनासम्म हाम्रा एजेन्डाहरूलाई जनतासमक्ष लान चान्स पाएको भए राम्रो नतिजा प्राप्त गर्न सक्थ्यौँ ।

रास्वपाले त्यति नै समयमा देशव्यापी माहोल बनाउन सक्यो तर कांग्रेसले नसक्ने भन्ने हुँदैन । याे स्वीर्कानु न- बदलिएको कांग्रेसको परिणामलाई आधार मान्दा देउवालाई अपमानजनक ढंगबाट अपदस्त गर्नेबाहेक उपलब्धि केही भएन ।
होइन, त्यसरी भन्न मिल्दैन । म फेरि पनि त्यो डेटलाई स्मरण गराउँछु । पुस ३० गते हाम्रो विशेष महाधिवेशनबाट केन्द्रीय समिति फर्मेसन भयो । त्यसपछि ५ गतेसम्म ४–५ दिनको अवधिमा १६५ वटै क्षेत्रमा उम्मेदवारी तय गर्नुपर्ने धपेडी भयो । जनतासमक्ष हामीले हाम्रा एजेन्डाहरू जनतासमक्ष स्थापित गर्ने समय नै भएन ।
प्रष्ट भन्दा बदलिएको कांग्रेसलाई मतदाताले नपत्याएको होइन र ?
त्यो मिल्दैन । किनभने नेपालको राजनीतिमा नेपाली कांग्रेसको उपस्थिति ७८ वर्ष भयो । सबै परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गर्यो । पार्टी सञ्चान, राज्यसत्ता सञ्चालन गर्ने मामिलामा केही कमजोरी भयो भनेर हामीले स्वीकारिसकेका छौँ । त्यसपछि हामी करेक्सन भयौँ । हामी सुध्रियौँ । हामी बद्लियौँ । अहिलेका नयाँ पार्टीहरूका भन्दा हाम्रो एजेन्डा प्रगतिशील छ ।
तर, बदलिएको कांग्रेसले चुनावमा हावा खायो नि ?
फेरि पनि भन्दैछु– हामीले एजेन्डाहरू जनतासमक्ष लाने मौकै मिलेन नि त ।
उसाे भए सभापतिबाट गगन थापाले दिएकाे राजीनामा स्वीकृत हुँदैन ?
गगन थापाज्यूू केन्द्रीय सभापति नहुुनु भएको थियो भने नेपाली कांग्रेसले यत्तिको सिट पनि पाउने थिएन । उहाँले कांग्रेसको प्रभावशाली ढंगले नेतृत्व गर्नु भएपछि अहिलेको जुन स्थिति हो, यसलाई उपलब्धिको रूपमा ग्रहण गरेका छौँ ।
यो निर्वाचनपछि अर्को निर्वाचन पाँच वर्षपछि हुन्छ । यो अवधिलाई मैले चाहिँ ‘आँखाको झिमिक’ भन्ने गरेको छु । फेरि हामी फ्रेस म्यान्डेट लिन नेपाली दाजुभाईसम्म पुग्नुपर्छ । त्यो अवधिसम्ममा रिभाइभ भएर मुलुकको नेतृत्व गर्नेगरी अगाडि बढ्छौँ ।
संसदमा प्रमुख विपक्षी दलको हैसियतमा कांग्रेसको भूमिका कस्तो पाउँछौँ अब ?
यदि बालेन सरकराकाे जनहित विरोधी काम हुन्छ । राष्ट्रहित विरोधी काम हुन्छ । भ्रष्टाचार, सुशासन कायम गर्नको निम्ति काम यदि हुँदैन भने हाम्रा आवाजहरू बुलन्द रूपबाट संसदमा उठ्ने हुन् । हामीले संसदमा मर्यादित रूपबाट संसदको मर्यादा र गरिमालाई कायम गरेर हाम्रा आवाजहरू मुखरित गर्ने हो। हामीले सरकारको विरोध गर्दै गर्दा हामी ‘ब्रीफकेस’ फुटाउनेवाला होइनौँ नि त । हामीले त्यहाँको चेयर फुटाउनेवाला होइनौँ नि त ।

तर, दुई तिहाइको सरकार, एकल बहुमतीय सरकार र साझेदारी सरकारको नेतृत्व गरिसकेको अनुभव भएको कांग्रेस कमजोर प्रतिपक्षीको हैसियतमा संसदमा उपस्थित हुँदा लज्जाबोध त हुन्छ होला नि ?
यहाँलाई पनि भरपूर जानकारी छ कि २०१५ सालमा महामानव बिपी कोइरालाले सरकारको नेतृत्व गर्नुभएको थियो । त्यो सरकारलाई अपदस्थ गरेर जेल जीवन पनि त भोग्नुपरेको अवस्था हामीले भोगेका छौँ । त्यसपछिका सबै राजनीतिक ‘मुभमेन्ट’हरू त कांग्रेसले सञ्चालन गर्दै आयो । त्यसमाथि प्रजातन्त्रमा जनता सर्वोपरी हुन्छ, त्यसैले सार्वभौम सत्ता सम्पन्न जनता भन्छौँ हामी । सबै अधिकारयुक्त जनताबाट तिम्रो साइज यो हो, तिमी यहाँ बस भनेर आदेश गरिसकेपछि हामीले हिनताबोध महसुस गर्नुपर्ने कुनै आवश्यकता छैन । त्यसकारणले गर्दाखेरि हामी संसदमा संख्याको आधारमा अल्पसंख्यक संख्या नै छौँ तर म्याजिक नम्बर छ ।
सत्ता ढाल्न र गठन गर्न कुनै अर्थ राख्छ त ?
राजनीतिक सम्भावनाको खेल हो । अर्थ राख्न सक्छ । तर, नेपाली कांग्रेस सधैँभरि राजनीतिक स्थिरताको पक्षमा छ । यो अहिले प्राप्त भएको दुई तिहाइ नजिकको जुन बहुमत छ, यो बहुमत पाँच वर्षसम्म टिकोस् भन्ने कामना हाम्रो हो । मुलुकले एउटा राजनीतिक स्थिरता प्राप्त गरोस्, त्यो स्थिरताको माध्यमबाट मुलुकले समृद्धिको उचाई चढोस् ।
पूरा संवाद भिडियोमा
