`

राप्रपाकाे निर्देशक समिति अध्यक्षबाट पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लाेहनीकाे राजीनामा किन ? (अडियाे वार्ता)

जङ्‍ग तामाङ ८ चैत २०८२ १८:०८
बिशेष

काठमाडौं । निर्वाचनमा सर्मनाक हारपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन ‘निर्वाचन समीक्षा’ नगरी ‘मुड फ्रेस’ गर्न उपल्लो मुस्ताङतिर घुमफिरमा छन् ।

देशमा राजसंस्था र हिन्दुराष्ट्र फर्काउने एजेण्डालाई जनताले ब्यालेट बक्समार्फत् खारेज गरिदिँदा राप्रपामा असन्तोषको स्वर बढेको छ ।

अध्यक्ष लिङ्देन निर्वाचन समीक्षा बैठक राखेर यस्तो स्वर सुन्‍न तयार नभएको बेला राप्रपाको शक्तिशाली मानिने केन्द्रीय निर्देशक समितिका अध्यक्ष रहेका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आइतबार राजीनामा दिए ।

उनले निर्वाचनमा पार्टीको हारपछि पदमा बस्‍न नैतिकताले नदिएको बताएका छन् । निर्वाचनको समीक्षा छिटो गर्नुपर्ने भन्दै उनले पार्टी महाधिवेशनका लागि अध्यक्ष राजेन्द्र लिङ्देनलाई दबाब दिएका छन् ।

उनै पूर्वअध्यक्ष डा. लोहनीसँग नेपालवान एचडीका लागि जङ्‍ग तामाङले ‘फोनवार्ता’ गरेका छन् ।

०००

राप्रपाको निर्देशक समितिको अध्यक्षबाट तपाईंले किन राजीनामा दिनुभयो ?

पार्टीको जुन किसिमको नतिजा आयो, त्यो अनपेक्षित थियो। हामी असफल भएकै हो। त्यसैले त्यो परिवेशमा म त्यो पदमा बस्‍नु चाहिँ ठिक हुँदैन । हाम्रा कहाँ गल्तीहरू भए, कहाँ कमजोरीहरू भए, त्यसको निर्मम समीक्षा गरेर अगाडि बढ्नुपर्छ।

दोस्रो, पार्टीको महाधिवेशन अब चाँडाेभन्दा चाँडाे मिति ताेकेर पार्टीलाई नयाँ रूपबाट पार्टीलाई लाने संकल्प गर्नुपर्छ। यी कुराहरूलाई महत्त्व दिएर मैले राजीनामा दिएँ।

अब तपाईंको कदम के हुन्छ?

अब पार्टीको कमिटी, केन्द्रीय कार्य सम्पादन समितिमा यी कुराहरू आउँलान् र मेरा आफ्ना कुराहरू म त्यही कमिटीमै राख्छु ।

पार्टीले चुनावमा बेहोरेको हारको जिम्मेवारी नैतिक रूपमा लिँदै पार्टी अध्यक्षले प्रायः राजीनामा दिने हुन्छ। तपाईंले पो दिनुभयो त, किन ?

सबैले आ-आफ्नो जिम्मेवारी आफूले महसुस गर्ने हो। मैले चाहिँ महसुस गरेँ। मैले लिएँ, त्यो अरूको बारेमा मैले कसरी भन्‍नु ?

तपाईंको समीक्षामा के कारणले पार्टीको हार भयो चुनावमा ?

यो चाहिँ पार्टीको समीक्षामै आउँछ। समीक्षामै यसको गहिरो छलफल हुन्छ । अहिले नै कहाँ कमी कमजोरीहरू भए भनेर भन्दा पनि त्यो कमी कमजोरीहरू भए, हामी जुन तरिकाले एउटा वैकल्पिक शक्तिको रूपमा जानुपर्ने थियो, जान सकेनौं र जनतालाई हाम्रा सन्देशहरू हामीले प्रभावकारी रूपमा आजको युग अनुसारको प्रविधि र संगठन प्रयोग गरेर पुर्‍याउन सकेनौं। यसको बारेमा छलफल हुन्छ।

जनमत जुन आयो नि चुनावबाट, यसले कतै राप्रपाले बोकेको राजसंस्थाको एजेन्डा र हिन्दु राष्ट्र पुनस्थापनाको एजेन्डा खारेज गरेको भन्‍ने त लाग्दैन?

त्यहाँतिर जानु भन्दा पनि जुन सन्देश लिएर जानुपर्थ्याे, त्यो सन्देशलाई प्रभावकारी रूपमा कसरी पुर्‍याउनुपर्थ्याे ? अहिलेको आधुनिक युग टेक्नोलोजी वा प्रविधि भन्नुस् न, यसकाे प्रयोग गरेर जनतामा कसरी पुर्‍याउन सकिन्थ्याे ? त्याे महत्वपूर्ण छ । किनभने त्यो जुन मिडियमबाट तपाईंले पुर्‍याउनुहुन्छ नि, अहिले यो अनलाइन नै भन्नुस्, अनलाइनको जुन डिजिटल टेक्नोलोजी छ। यसले तुरुन्तको तुरुन्तै जान्छ सन्देश। पहिलेको जस्तो घण्टौँ, अखबार हेरिरहनुपर्ने आवश्यकता पनि छैन। यी सबै नयाँ प्रविधिहरूलाई कसरी प्रयोग गर्न सकिन्छ ? त्यो मिडियमलाई कसरी युज गर्ने? आफ्नो सन्देशहरू पठाउनको लागि कसरी युज गर्ने भन्ने कुरामा गम्भीर तरिकाले हामीले विश्लेषण गर्नुपर्छ। हाम्रा सन्देशहरू समय सापेक्षित छन्, तर हामीले त्यसलाई जनतामा पुर्‍याउन सकेनौं, असफल भयो।

चुनावमा हारको नैतिक जिम्मेवारी लिँदै तपाईंले राजीनामा दिनुकाे अर्थ कतै अध्यक्ष राजेन्द्र लिङ्देनको पनि राजीनामा मागिरहेको सन्दर्भमा उनलाई राजीनामा दिनको लागि दबाब बढाउने प्रयास त हाेइन ?

मैले आफ्नो बारेमा भनेँ ।मेराे आफ्नो बारेमा चाहिँ यत्ति हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *