`

फोन पानीमा भिज्दा कति सुरक्षित? आईपी रेटिङले के भन्छ ?

Nepal One HD १० चैत २०८२ १२:३९
विज्ञान-प्रविधि

काठमाडौं । तपाईकाे फाेन पानीमा भिज्याे भने तपाईलाई चिन्ता हुन सक्छ- ‘ला ! अब बर्बादै भयाे । माेबाइल बिग्रियाे ।’ पानीमा डुब्याे भने पनि तपाईलाई चिन्तित बनाउँछ ।

तर, भिज्‍ने बित्तिकै सबै फाेन बिग्रिने भने हुँदैन । त्यसकाे लागि महत्वपूर्ण हुन्छ – आईपीएक्स अर्थात् इनग्रेज प्रोटेक्शन रेटिङ ।

याे  एक अन्तर्राष्ट्रिय मापदण्ड हो, जसले मोबाइल फोन, स्मार्टवाच, स्पिकरलगायतका इलेक्ट्रोनिक उपकरणहरू धुलो र पानीबाट कति सुरक्षित छन् भन्ने जानकारी दिन्छ।

यो सामान्यतया आईपी ६७, आईपी ६८ वा आईपीएक्स ४ जस्ता फर्म्याटमा उल्लेख गरिएको हुन्छ, जहाँ पहिलो अंकले धुलोबाट हुने सुरक्षास्तर जनाउँछ भने दोस्रो अंकले पानीबाट हुने सुरक्षा स्तर देखाउँछ।

आईपीएक्स ४ रेटिङ भएका उपकरणहरू सामान्यतया पानीका छिटा वा हल्का वर्षाबाट सुरक्षित हुन्छन्। तर यसमा धुलोबाट हुने सुरक्षाबारे स्पष्ट जानकारी दिइएको हुँदैन।

आईपी ६७ रेटिङ भएको उपकरण भने पूर्ण रूपमा धुलोबाट सुरक्षित हुने (डस्ट-टाइट) हुन्छ र करिब १ मिटर गहिराइको पानीमा ३० मिनेटसम्म सुरक्षित रहन सक्छ। त्यस्तै, आईपी ६८ रेटिङ भएका उपकरणहरू अझ उन्नत मानिन्छन्, जसले १.५ मिटर वा सोभन्दा बढी गहिराइमा पनि केही समयसम्म पानी सहन सक्छन्। यद्यपि, वास्तविक सीमा भने सम्बन्धित निर्माता कम्पनीले निर्धारण गरेको हुन्छ।

तर धेरै प्रयोगकर्ताले आईपी रेटिङलाई ‘वाटरप्रुफ’ भनेर बुझ्ने गल्ती गर्छन्, जुन पूर्ण रूपमा सही होइन। वास्तवमा यी उपकरणहरू ‘वाटर-रेसिस्टेन्ट’ मात्र हुन्छन्, अर्थात् सीमित अवस्थामा मात्र पानीबाट जोगिन सक्षम हुन्छन्।

लामो समयसम्म पानीमा डुबाएर राख्दा, साबुनयुक्त पानी, नुनिलो पानी वा अत्यधिक चापमा राख्दा उपकरणमा क्षति पुग्न सक्छ।

त्यसैले आईपी ६७ वा आईपी ६८ रेटिङ भएका फोन भए पनि अत्यधिक पानीको सम्पर्कबाट जोगाउनु उपयुक्त हुन्छ।

आईपी रेटिङले दैनिक प्रयोगमा सुरक्षा दिने भए पनि सावधानी अपनाउनु नै दीर्घकालीन प्रयोगका लागि सबैभन्दा सुरक्षित उपाय मानिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *