राजीनामा, चुनावी हार र भ्रष्टाचार नियन्त्रणबारे के भने काङ्ग्रेस सभापति गगन थापाले ? (सम्बोधनको मूल अंश)
राजीनामा किन ?
निर्वाचनलगत्तै मैले राजीनामा दिन चाहेको थिएँ। तर केही प्राविधिक प्रक्रियाहरूका कारण तत्काल राजीनामा दिन सकिएन। मैले कुनै हतारमा वा आवेगमा राजीनामा दिएको होइन, न त राहतको अनुभूति गरेर नै यस्तो कदम उठाएको हुँ। जसले मत माग्नुभयो वा जसले मतदान गर्न जानुभयो, तिनका टिप्पणीहरू मेरा लागि स्वाभाविक रूपमा प्राथमिकतामा पर्थे तर त्यो समय मेरो मुख्य चासो संगठनात्मक जिम्मेवारी पूरा गर्नु थियो।
२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको जिम्मेवारी स्वीकार गर्दै मैले फागुन महिनामै राजीनामाको तयारी गरेको थिएँ। नेपाली कांग्रेसको चैत ३ गते बसेको केन्द्रीय समिति बैठकपछि पार्टीको विधानअनुसार पार्टी सभापतिले राजीनामा दिन चाहेमा उपसभापतिसमक्ष दिने व्यवस्था छ र उपसभापतिले नै त्यसबारे निर्णय लिनुपर्ने प्रावधान हुन्छ। त्यसैले मैले विधिपूर्वक कुनै हतारोबिना, राजीनामा अघि बढाएको हुँ।
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा हामी गएको अवस्थामा हामीले विशेष महाधिवेशन नगरिकनै निर्वाचनको सामना गर्नुपरेको थियो। हामी निर्वाचित हुन नसके पनि प्रतिस्पर्धा गरेको १६६ जना उम्मेदवारमध्ये धेरैले राम्रो बुझाइ र साथ दिएका थिए। निर्वाचित हुन नसकेका तर मेहनतपूर्वक लडेका ती सबै उम्मेदवारलाई म सम्मानका साथ स्मरण गर्छु।
निर्णय गर्ने बेला म एकछिन अलमलिएको अवश्य हुँ तर कसैको दबाब वा भयमा परेर राजीनामा गरेको होइन। किनभने नेतृत्व ग्रहण गरेपछि जवाफदेहिता लिने मेरो कर्तव्य हो। जसले मत माग्नुभयो वा मतदान गर्न जानुभएन, दुबै पक्षका भावनालाई सम्मान गर्दै मैले आफ्नो भूमिकाको मूल्यांकन गरेको हुँ। राजीनामा गरेपछि पनि अतिनै प्रतिकूल अवस्थामा पार्टीका लागि समर्पित भएर काम गर्ने साथीहरूको सुझाव र रायहरू मेरा लागि सदैव शिरोमान रहनेछन्।
मैले राजीनामा गर्ने निर्णय बनाएपछि पहिलोपटक औपचारिक रूपमा उपसभापति, महामन्त्रीलगायत नेतासँग निरन्तर छलफल गरिरहेँ। अनौपचारिक रूपमा पनि म निरन्तर संगठनका जिम्मेवारहरूसँग संवादमै थिएँ।
यसअघि रहेको समितिका सभापति आदरणीय शेरबहादुर देउवाजीको हस्ताक्षरमा समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाइसकिएको थियो। बिचमा विशेष महाधिवेशन नभएको हुनाले हामीले नै उम्मेदवार छनोट गरेर बुझाउनु पर्ने दायित्व थियो। सो व्यवस्था पूरा गर्नु नेतृत्वको जिम्मेवारी भएकाले ती प्रक्रियाहरू सकेर मात्रै म औपचारिक रूपमा राजीनामा गर्न सक्दथेँ।
अन्तत मैले यो निष्कर्ष किन निकालेँ भने-यो जवाफदेहिताको विषय थियो। हामी गएर केही गर्न सक्थ्यौँ कि? समय बढी पाएकाे भए परिणाम फरक पर्थ्यो कि? यस्ता प्रश्नहरू गम्भीर रूपमा आत्मसमीक्षा गरेपछि नै म यो निर्णयमा पुगेको हुँ।
तर, अन्तिममा स्पष्ट भन्न चाहन्छु। म नेपाली कांग्रेसको सभापति हुँ, यो टिमको कप्तान हुँ, र मेरो नेतृत्वमा भएको परिणामको वास्तविक जिम्मेवारी लिनु मेरो कर्तव्य नै हो। त्यसैले प्राविधिक, संगठनात्मक र वैधानिक पक्ष पूरा गरेर राजीनामा प्रक्रियामा अघि बढेको हुँ।’
भ्रष्टाचारसँग जोडिएका प्रकरण छानबिनबारे
यदि कसैले अवैध रूपमा सम्पत्ति आर्जन गरेको छ, गलत कमाइ गरेको छ भन्ने प्रस्ट प्रमाण देखिन्छ भने त्यस सम्पत्ति जफत हुनुपर्छ। हामी यही मान्यतामा छौँ। हामीले सरकार चलाउने अवसर पायौँ भने छ महिनाभित्रै सम्पत्ति छानबिन आयोग गठन गरेर काम अघि बढाउनेछौँ भनेर भनेका थियौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि त्यही भन्यो र उसले भनेको छ हामी आयोग बनाउछौँ, छानबिन गर्छौं र दोषी देखिएमा कारबाही गर्छौं। यी जति पनि काण्डहरु छन्, चाहे त्यो गिरिबन्धु होला, ललिता निवास होला, वाइडबडी होला वा भाद्र २४ गते घरमा जलेको रकम होला। यी सबै विषयहरुका सन्दर्भमा अनुसन्धान हुनुपर्छ।
वि.सं. २०८२ सालपछि नयाँ अध्याय सुरु हुन्छ । हामी सबैले नयाँ दिशातर्फ अघि बढ्नुपर्छ। यो एउटा ‘कट अफ प्वाइन्ट’ हो तर २०८२ भन्दा अघिका कुराहरुलाई हामी कसरी हेर्छौं त ? २०८२ भन्दा अगाडीका कुरालाई पनि टुंग्याउनुपर्छ अब।
२०४६ सालको जनआन्दोलनपछि २०४८ सालमा नयाँ सरकार गठन भयो। त्यसपछिका २५ वर्षमा २०४८ देखि २०८२ सम्म विभिन्न सरकारले नेतृत्व गरेका छौँ। २०४६ सालयता सार्वजनिक भूमिकामा बसेका प्रत्येक व्यक्तिको सम्पत्ति छानबिन गर्ने। यदि यो अवधिमा कसैले गलत तरिकाबाट सम्पत्ति आर्जन गरेको छ भने त्यो जफत गर्ने। अब आउने सरकारले छानबिन आयोग बनाउनुपर्छ। हाम्रो साथपनि रहन्छ- माग पनि रहन्छ।
२०४६ सालदेखि यहाँसम्म आइपुग्दा करिब ३५ वर्ष भयो। यो ३५ वर्षको अवधिमा थुप्रै राम्रो काम पनि भएका छन्। थुप्रै अवरोध पनि आए। यो बिचमा हामीले यत्रो ठूलो हिंसा देख्यौँ, द्वन्द्व देख्यौँ । राजनीतिक संक्रमण पनि देख्यौँ। अधिनायकवादी शासन देख्यौँ। त्यसको प्रतिरोधको राजनीति देख्यौँ। संविधान निर्माणको लामो संक्रमण काल देख्यौँ। थुप्रै कुराहरु हामीले बेहोरेका छौँ। तर यही ३५ वर्षको अवधिमा नागरिकहरूको मनमा एउटा ठूलो प्रश्न के रह्यो भने- शासकीय स्वरुपको ठूलो दुरुपयोग भयो। सार्वजनिक ओहदामा बस्नेहरुले शासकीय स्वरुपको दुरुपयोग गरे। सार्वजनिक पदको दुरुपयोग गरे। र यो दुरुपयोग भएको कुरा थुप्रै काण्डहरुसँग जोडिएको छ।
हामी सुन्छौँ- यो काण्ड, त्यो काण्ड भनेर। यसमा नेपाली कांग्रेसको आधिकारिक धारणा स्पष्ट छ- यी काण्डहरु अब सार्वजनिक खपतको विषय हुनुहुँदैन र आरोप प्रत्यारोपको विषय पनि हुनुहुन्न। यो दूधको दूध पानीको पानी हुनुपर्छ। यसको भारी कुनै अमुक वा कुनै पार्टीले पनि बोक्ने होइन। जसले गरेको छ- उसले यसको भारी बोक्नुपर्छ। नेपाली कांग्रेसले प्रष्ट रुपमा यो विचार राखेर जानुपर्छ।
नेपालको राजनीति सफा गर्ने संकल्पमा नेपाली कांग्रेसको नेतृत्व पूर्णरूपमा प्रतिबद्ध छ।
निर्वाचनमा पार्टीको हारबारे
नेपाली कांग्रेसको एउटा क्रियाशील सदस्यका रूपमा चुनाव जिताउनका लागि समर्पित भएर लाग्ने प्रतिज्ञा हामी सबैले गर्छौँ। विशेष महाधिवेशनपछि केही नेताहरूमा असन्तुष्टि थियो, यो पनि म स्वीकार गर्छु। पार्टीको विशेष महाधिवेशन सम्पन्न भएपछि हामीले एक दिनमा १ सय ६५ जना उम्मेदवार चयन गर्याेँ । उम्मेदवार चयन गर्दा त्यतिबेला हामीसँग उपलब्ध सूचना, ग्राउन्ड-वर्क र पार्टी विधानअनुसार नै निर्णय गरिएको थियो। त्यो निर्णयमा सबैले पूर्ण सन्तुष्टि नहुनु स्वाभाविक हो, त्यसलाई म सम्मान गर्छु।
उम्मेदवार नबन्नुका कारण वैयक्तिक असन्तुष्टि हुनु पनि सामान्य कुरा हो। मप्रतिको गुनासो होला, निर्णयप्रतिको गुनासो होला। तर गत निर्वाचनमा नेपाली कांग्रेस पार्टीको तर्फबाट पार्टीको रुख चिन्ह लिएर उम्मेदवार बनेका व्यक्तिलाई न त मत दिएका छौँ, न त मत मागिएको छ। नेपाली कांग्रेसको सदस्यता लिने व्यक्तिले एउटा शपथ लिएर सदस्यता लिएको हुन्छ कि म नेपाली कांग्रेसबाट बन्ने उम्मेदवारलाई जिताउन समर्पित भएर लाग्नेछु।
तर पार्टीको सदस्यले लिएर गएको प्रतिज्ञा चुनावमा कार्यान्वयन भएन । यसबारे गुनासो उठ्नु पनि स्वाभाविक छ। तर रुख चिन्ह लिएर गएका उम्मेदवारलाई मत नमाग्ने- मत नहाल्ने कुरालाई मैले पार्टी सभापतिका रुपमा नोटिसमा राख्नुपर्छ।
कुनै नेता कुनै निर्वाचन क्षेत्रमा पाँच पटक, छ पटक, चार पटक वा तीन पटकसम्म उम्मेदवार बन्नुभएको छ । यो पटक पनि उम्मेदवार बन्न चाहना व्यक्त गर्नुभयो । उम्मेदवार बन्ने- अघिल्लोपटक बन्नुभयो यो पटक बन्नुभएन। पार्टी हो कहिले को बन्छ को बन्दैन। म अहिले सभापति छु- अर्को पटक नेपाली कांग्रेसको तर्फबाट मा उम्मेदवार नै नबन्ने पनि हुनसक्ला। यो पटक बने। निर्णय गरेरै उपसभापति विश्वप्रकाश शर्मा, पुष्पा भुसाल उम्मेदवार बन्नुभएन। हामी पार्टीको काम गर्छौँ भन्नुभयो। तर ५/६ पटक त्यही निर्वाचन क्षेत्रबाट निर्वाचन लडेको नेता यो पटक कार्यकर्ता सघाउन निर्वाचन क्षेत्रमा टेक्नु पर्दैन? मत माग्नु पर्दैन ? त्यो मैले सम्झाउनुपर्छ ? त्यो यसको पक्ष, त्यसको पक्षले निर्धारण गर्छ ? गर्दैन। तर यसका बारेमा पनि म कुनै पूर्वाग्रह राख्दिनँ। पार्टीको अनुशासन विभागले विधिसम्मत तरिकाले काम गर्छ।
विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वले आफ्नो जिम्मेवारी निर्वाह गर्दै पार्टीको निर्णय अनुसार निर्वाचन कार्य सम्पन्न गर्यो। परिणामबारे धेरै कुरा भइसकेका छन्, र समयक्रममा त्यसबारे फेरिफेरि बहस गरेर लाभ हुँदैन। आगामी नियमित महाधिवेशन र संगठनात्मक प्रक्रियाबाट नै यसको समुचित मूल्यांकन हुनेछ। यो गाडी अगाि बढ्यो अब। यो गाडीमा कोही छुट्नुहुन्न। सबैलाई समेटेर लाने हो। तर कोही छुट्छु भन्नुहुन्छ भने त्यो मेरो कुरा होइन।’
