इन्धनको मूल्यवृद्धि : नेपालको अर्थतन्त्र धरापमा
काठमाडौं। इन्धनको मूल्यमा आएको ठूलो वृद्धि र अन्तर्राष्ट्रिय भूराजनीतिक तनावका कारण नेपालको अर्थतन्त्रमा असर परेको अर्थ मन्त्रालयले जनाएको छ।
बुधबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणमा विश्वका विभिन्न क्षेत्रमा देखिएको तनाव, मध्यपूर्वमा जारी युद्ध र पेट्रोलियम पदार्थको मूल्य बढेकाले आर्थिक गतिविधिमा दबाब परेको उल्लेख गरिएको छ।
सर्वेक्षणअनुसार विदेशमा कार्यरत नेपाली कामदारको रोजगारी प्रभावित हुन सक्ने र त्यसको असर रेमिट्यान्स प्रवाहमा समेत पर्न सक्ने जोखिम छ।
त्यस्तै, मध्यपूर्वी मुलुकबाट नेपाल आउने पर्यटकको संख्या घट्न सक्ने र पर्यटन क्षेत्रको आम्दानीमा पनि कमी आउन सक्ने अनुमान गरिएको छ।
इन्धनको मूल्य वृद्धिका कारण दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री महँगो हुँदै गएको र यसले समग्र मूल्यवृद्धि (महँगी) बढाएको पनि सर्वेक्षणले देखाएको छ।
सरकारले अन्तर्राष्ट्रिय परिस्थितिबाट उत्पन्न चुनौतीलाई नीतिगत व्यवस्थामार्फत व्यवस्थापन गर्ने जनाएको छ।
