श्रीलङ्कामा इन्धन र ऊर्जा बचतका नयाँ निर्देशिका जारी
कोलम्बो। मध्यपूर्वमा बढ्दो तनावका कारण इन्धन आयातमा सम्भावित अवरोधहरू आउन सक्ने अवस्थामा श्रीलङ्काको प्रमुख आवाश्यक सेवा कार्यालयले सरकारी निकायहरूका लागि इन्धन र ऊर्जा बचतसम्बन्धी निर्देशिका जारी गरेको छ ।
यो निर्देशिका मन्त्रालय सचिव, प्रादेशिक तथा जिल्ला सचिव र सरकारी तथा कानूनी संस्थाहरूका प्रमुखहरूलाई वितरण गरिएको छ । यसमा सार्वजनिक क्षेत्रभरि इन्धन र बिजुलीको खपत घटाउने उपायहरू अपनाउन सुझाव दिइएको छ ।
निर्देशिकाअनुसार, कर्मचारीहरूले व्यक्तिगत सवारीसाधन प्रयोग नगरी सम्भव भएमा सार्वजनिक यातायात वा समूहिक यातायातको प्रयोग गर्नुपर्छ । साथै, क्षेत्रीय कार्यका लागि सवारी साधनको सङ्ख्या घटाउन दैनिक यातायात योजना तयार गर्न सरकारी निकायहरूलाई निर्देशन दिइएको छ ।
बिजुली र ऊर्जा बचतका लागि सुझावहरूमा प्राकृतिक प्रकाशको अधिकतम प्रयोग, एयर कन्डिसनको सट्टा बिजुली पङ्खाको प्रयोग र सिँढीको प्रयोग प्रोत्साहित गरी लिफ्टको सीमित प्रयोग समावेश छ ।
स्थानीय सरकारका निकायहरूले अनावश्यक समयमा सडक बत्ती निभाउन र उच्च सुरक्षा क्षेत्रबाहेक सडक बत्ती अस्थायी रूपमा बन्द गर्न निर्देशन पाएका छन् ।निर्देशिकाले संस्थाहरूका प्रमुखलाई पनि प्रविधि उपलब्ध भएमा कर्मचारीलाई कार्यालय उपस्थितिका सट्टा घरबाट काम गर्न अनुमति दिन प्रेरित गरेको छ ।
सबै सार्वजनिक अधिकारीहरूलाई जिम्मेवार व्यवहार गर्न, जनता माझ उदाहरण प्रस्तुत गर्न र राष्ट्रिय ऊर्जा संरक्षण तथा सुरक्षा प्रयासमा पूर्ण समर्थन जनाउन आग्रह गरिएको छ ।
