तीन ठाउँमा दुर्घटना, तीन जनाको मृत्यु
काठमाडौं । मुलुकका तीन जिल्लामा भएका पृथक–पृथक सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। धनुषा, पर्सा र मकवानपुरमा भएको दुर्घटनासम्बन्धी जानकारी नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले सार्वजनिक गरेको हो।
धनुषा:
धनुषाको औरही गाउँपालिका-१ पौडेश्वरस्थित सडकमा देउरीबाट तारापट्टीतर्फ जाँदै गरेको मधेश प्रदेश–०२–००९ प ०८१८ नम्बरको मोटरसाइकलबाट खसेकी मिथिला बिहारी नगरपालिका-७ तारापट्टीकी ३६ वर्षीया शिला देवी साहको मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएकी साहको जनकपुरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भयो।
पर्सा:
पर्साको वीरगञ्ज महानगरपालिका-१७ मा जेएच २ बिक्यू ६९१९ नम्बरको ट्रक र बीआर २२ एजेड ३११८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक, स्थानीय ३० वर्षीय ईतियाज अंसारीको मृत्यु भएको छ।
गम्भीर घाइते अंसारीले नारायणी अस्पतालमा उपचारका क्रममा ज्यान गुमाए। मोटरसाइकलमा सवार थप एक जना घाइते भएका छन् र उनको सोही अस्पतालमा उपचार भइरहेको छ।
मकवानपुर:
मकवानपुरको बकैया गाउँपालिका-११ घट्टेपाखास्थित सडकमा हेटौंडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना.८ ख ८७६० नम्बरको ट्रक गए राति अनियन्त्रित भई दुर्घटना हुँदा पर्सा वीरगञ्ज–३२ का २० वर्षीय सन्तोष यादवको मृत्यु भएको छ।
गम्भीर घाइते यादवको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको जानकारीमा उल्लेख छ। ट्रक चालक भने थप उपचारका लागि चितवन पठाइएको छ।
तीनै सडक दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।
