`

टीओबी ग्याङलाई फौजदारी कारबाही गर्न सिफारिस

Nepal One HD १२ चैत २०८२ १४:५८
समाचार

काठमाडौं ।  भदौ २३ र २४ गते राजधानीमा भएको जेन्जी आन्दोलनका क्रममा हिंसा, दमन र लुटपाटका घटनाबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनमा टीओबी ग्रुपका सदस्यहरूलाई फौजदारी संहिता अनुसार कारबाही गर्न सिफारिस गरिएको छ।

आयोगका अनुसार, भदौ २३ गते चाबहिल-ओम अस्पताल नजिकबाट धोबीखोला कोरिडोर हुँदै बिजुली बजार हुँदै नयाँ बानेश्वर पुगेका टीओबी समूहका व्यक्तिहरूले प्रदर्शनकारीहरूलाई उक्साउने र शान्ति भङ्ग गर्ने कार्य गरेको ठहर छ। ती व्यक्तिहरूले भीड नियन्त्रणबाहिर पुर्‍याएर हिंसा भड्काएको पाइएपछि आयोगले फौजदारी संहिता दफा ३५ अनुसार मुद्दा चलाउन सिफारिस गरेको छ।

त्यसै दिन संसद् भवन परिसरमा गोली चल्ने घटनामा संलग्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिम्मेवार अधिकृत तथा जवानहरूलाई पनि जबाफदेही बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

भदौ २४ गते पूर्व प्रधानमन्त्री देउवासहितका नेताहरूको घरमा भएको आक्रमण र आगजनीको घटनालाई आयोगले केवल जनआक्रोशको रूपमा मात्र हेर्न नमिल्ने स्पष्ट पारेको छ। देउवा निवासमा भेटिएको ठूलो परिमाणको रकम जलेको वा नजलेको अवस्थामा समेत यसको स्रोत र वैधानिकतामा प्रश्न उठेको उल्लेख छ र आयोगले यसबारे कानुन बमोजिम गहिरो अनुसन्धान हुनुपर्ने माग गरेको छ।

प्रदर्शनको नाममा भएका तोडफोड, लुटपाट र आगजनीमा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको पनि संलग्नता रहेको तथ्य आयोगले सार्वजनिक गरेको छ। आयोगले अनुसन्धानमा विभिन्न सीसीटीभी फुटेज, श्रव्य-दृश्य सामग्री, साथै नेपाल टेलिकम र एनसेलबाट प्राप्त बीटिएस डेटालाई मुख्य आधार बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *