`

निर्वासित तिब्बत सरकारले दियो बालेन सरकारलाई बधाई

Nepal One HD १५ चैत २०८२ १४:१२
बिशेष

काठमाडौं । तिब्बती निर्वासित सरकारका प्रमुख नेता सिक्योङ पेम्पा छेरिङले नेपालका नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले केन्द्रीय तिब्बती प्रशासन र तिब्बती जनताको तर्फबाट शुभकामना सन्देश पठाएका हुन्।

आफ्नो सन्देशमा उनले हालै सम्पन्न जेन–जेड नेतृत्वको आन्दोलनपछि सबैभन्दा कान्छा प्रधानमन्त्रीका रूपमा शाहको उदयलाई नेपाली जनताको, विशेषगरी युवापुस्ताको आकांक्षाको सशक्त अभिव्यक्तिको रूपमा व्याख्या गरेका छन्।

सन्देशमा नेपाल र तिब्बतबीच पुस्तौँदेखि रहँदै आएको ऐतिहासिक तथा आध्यात्मिक सम्बन्धको उल्लेख गर्दै, तिब्बतको जबरजस्ती अधिग्रहणपछि नेपालमा शरण लिएर बसोबास गरिरहेका तिब्बती समुदायले आफ्नो पहिचान जोगाउँदै यहाँको सामाजिक र आर्थिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरिएको छ। साथै, यो सबै नेपाल सरकार र नेपाली जनताको उदारताका कारण सम्भव भएको भन्दै उनले कृतज्ञता व्यक्त गरेका छन्।

अन्त्यमा उनले शाहलाई हार्दिक बधाई दिँदै नेपालको यस महत्वपूर्ण घडीमा उनको नेतृत्व सफल होस् भन्ने कामना गरेका छन्। साथै, दुवै जनताबीचको मित्रता अझ प्रगाढ हुने विश्वास व्यक्त गर्दै नेपालले प्रगति, समृद्धि र सकारात्मक परिवर्तनतर्फ अघि बढोस् भन्ने आशा व्यक्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *