एएफसी एसियन कपको छनोट खेलमा नेपाल लाओससँग पराजित
काठमाडौं। एएफसी एसियन कप छनोट २०२७ अन्तर्गतको अन्तिम खेलमा नेपाल पराजित भएको छ। लाओसमा भएको खेलमा नेपाल घरेलु टोलीसँग १-० ले पराजित भएको हो। यससँगै नेपाल समूह एफ को पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।
यसअघि अवे खेलमा पनि नेपाल लाओससँग २–१ ले पराजित भएको थियो, जसका कारण नेपाल लगातार दुई खेलमा लाओससँग हार्न पुग्यो। यद्यपि, दुवै टोलीबीच भएका कुल ७ भेटमध्ये नेपालले ४ खेल जितेको थियो भने एक खेल बराबरीमा सकिएको थियो।
खेलको निर्णायक गोल दोस्रो हाफको सुरुआतमै आएको थियो। ४८औँ मिनेटमा लाओसका कप्तान बाउमफाचान बाउनकंग ले नजिकबाट गोल गर्दै टोलीलाई अग्रता दिलाए। उक्त प्रहार रोक्न नेपालका गोलकिपर किरण चेम्जोङ असमर्थ भए। त्यसपछि नेपालले बराबरी गोल फर्काउन नसक्दा हार व्यहोर्नुपर्यो।
यो खेल नेपालका विदेशी प्रशिक्षक एरेना को पहिलो अन्तर्राष्ट्रिय खेल थियो भने स्ट्राइकर युवराज खड्का ले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए।
समूह एफ बाट भियतनाम १८ अंकसहित २०२७ मा साउदी अरेबिया मा हुने एएफसी एसियन कपका लागि छनोट भएको छ। यस्तै,मलेसियाले ९ अंक, लाओस ६ अंक र नेपाल ३ अंक सहित समूह चरणबाटै बाहिरिएका छन्।
नेपालले मलेसियासँग खेलेको खेलमा हार बेहोरे पनि मलेसियाले गलत विवरण पेश गरेको पुष्टि भएपछि उक्त खेल नेपालले ३-० ले जितेको मान्यता दिइएको थियो, जसबाट नेपालले ३ अंक जोडेको थियो।
यस खेल मूलतः नेपालमै आयोजना हुनुपर्ने थियो। तर एन्फाको ध्यान आन्तरिक निर्वाचनतर्फ केन्द्रित हुँदा खेल लाओसमा सारिएको हो। दशरथ रंगशाला लाई एएफसीले अयोग्य ठहर गरेपछि आवश्यक सुधार नगर्दा घरेलु मैदानमा खेल हुन सकेन।
नेपालसहित सबै दक्षिण एसियाली टोलीहरू समूह चरणबाटै बाहिरिएका छन्। माल्दिभ्स, भुटान, बंगलादेश, भारत, पाकिस्तान र नेपालले छनोट पार गर्न सकेनन्।
यसमध्ये श्रीलंका ले तुलनात्मक रूपमा राम्रो प्रदर्शन गर्दै ९ अंक जोडेको थियो। तर, समूह डी मा तेस्रो स्थानमै सीमित हुँदा छनोट हुन सकेन।
