रवि लामिछाने : प्रश्न सोध्न मात्र होइन, समाधान दिन पनि आएका हौँ (भिडियो)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै आफूहरू प्रश्न उठाउन होइन, समाधान दिन पनि आएको बताएका छन् ।
संसदमा सम्बोधन गर्दै उनले आफ्ना पार्टीका सांसदहरूलाई जनताको आवाज बन्न आग्रह गरे । ‘हामी प्रश्न सोधेर आएका हौँ, अब हामीलाई उत्तर दिन आउँछ,’ उनले भने, ‘समस्या मात्र होइन, समाधान गर्न पनि आउँछौँ।’
लामिछानेले लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष एकअर्काका परिपूरक हुने उल्लेख गर्दै प्रतिपक्षको आवाज कमजोर हुन नदिने प्रतिबद्धता जनाए । ‘यो संसद बहसको थलो हुनेछ, प्रतिशोधको होइन,’ उनले जोड दिए ।
उनले संसदमा आस्थाका आधारमा अन्याय नहुने, कसैको आवाज दबाइने अवस्था आउन नदिने र सुशासनको अभियान नरोकिने बताए । जेन–जी घटनाको सन्दर्भ उल्लेख गर्दै उनले दोषीमाथि कारबाही गर्नु प्रतिशोध नभई कानुनी दायित्व भएको स्पष्ट पारे ।
यसैगरी, लामिछानेले राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूलाई मार्ग प्रशस्त गर्न आग्रह गरे ।
परराष्ट्र नीतिका विषयमा उनले प्रतिपक्षलाई समेत साथमा लिएर पारदर्शी र राष्ट्रिय हितमा आधारित नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
