रास्वपालाई जादुमयी विजय गराउने टीओबी-बारबरालाई बधाई- बादल
सम्माननीय सभामुख महोदय,
सर्वप्रथम म राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका लागि आफ्नो अमूल्य जीवनको आहुति दिने भाद्र २३ र २४ लगायत सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
सम्मानीय सभामुख महोदय, नेपालमा भाद्र २३ र २४ गते अवैधानिक ढंगबाट रास्वपाको अघोषित नेतृत्वमा रंगक्रान्ति सफलतापूर्वक सम्पन्न भयो । फागुन २१ गते आम निर्वाचनमार्फत निलो क्रान्तिलाई वैद्यकता प्रदान गरियो । चैत्र १३ गते भव्य धार्मिक अनुष्ठानसहित श्री बालेन्द्र शाहज्यूलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराइयो । यो ऐतिहासिक विजयका लागि रास्वपा तथा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई म नेकपा एमालेको तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु ।
सम्माननीय सभामुख महोदय,
यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा क–कसको निर्णायक भूमिका रह्यो ? तथ्यहरूले के स्पस्ट गर्दछन् भने मुख्यतः नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबरा फाउन्डेशन (एनजीआ) आदि सस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो । त्यसैले ती संस्था तथा पात्रहरूलाई पनि म नेकपा एमालेको तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु ।
सम्माननीय सभामुख महोदय,
यो जादुमय विजयका लागि बाह्य दृष्टिले क–कसले निर्णायक भूमिका निर्वाह गरे ? असंख्य तथ्यहरूले के स्पस्ट गर्दछन् भने अदृश्य शक्तिहरू, टीआईबी, एआई, अल्गोरिदम, गोयबल्सहरू जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरूलाई फुटकार खलनायक र हत्याराको रूपमा स्थापित गरे जसले देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खल पात्रहरूलाई महानायक बनाए । ती संस्था र पात्रहरूले नै बाह्य रूपमा यो जादुमय निर्णायक भूमिका खेले । त्यसैले यस ऐतिहासिक क्षणमा म ती सबै पात्रहरूलाई पनि नेकपा एमालेको तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु ।
सम्माननीय सभामुख महोदय,
यो चमत्कारिक विजयले केही असाधारण प्रश्नहरू जन्माएको छ । कुन उद्देश्य प्राप्तिका लागि सिंहदरबार, शीतल निवास, बालुवाटार, सर्वोच्च अदालत, राजनीतिक नेतृत्व र निजी निवासहरू, प्रहरी चौकी, व्यावसायिक प्रतिष्ठानहरू सुनियोजित ढङ्गबाट जलाइयो ? कुन उद्देश्य प्राप्तिका लागि, कसले ती अबोध विद्यार्थीहरूलाई निषेधित क्षेत्र तोड्न उक्सायो ? कुन उद्देश्य प्राप्तिका लागि हतियारबद्ध टीओबीहरू २३ र २४ गते तिलस्मी रूपमा प्रकट भए ? कुन उद्देश्य प्राप्तिका लागि गैरकानुनी ढङ्गबाट पूर्वप्रधानमन्त्री तथा गृहमन्त्रीहरूलाई गिरफ्तार गरियो ? कुन उद्देश्य पूर्तिको लागि राजनीतिक नेतृत्वहरूलाई गिरफ्तार गर्ने प्रपञ्च रचिँदै छ ? कुन उद्देश्य पूर्तिको लागि देशव्यापी रूपमा दमनचक्र र राज्य आतंक मचाइँदै छ ? कुन उद्देश्य प्राप्तिका लागि विद्यार्थी तथा पेशाकर्मीहरूको संगठित हुने मौलिक अधिकारलाई बलात् खोसिँदै छ ? कुन उद्देश्यका लागि मिडिया ट्रायल, साइबर आतंकको सृजना गरिँदै छ ?
सम्माननीय सभामुख महोदय,
निश्चय नै भविष्यले यी प्रश्नहरूको सही जवाफ दिँदै जानेछ । तर यी प्रश्नहरू र यस्तैयस्तै प्रश्नहरू हामी सम्पूर्ण ताकतसहित राज्यलाई सोध्ने छौँ । निरन्तर यो गरिमामय सदनमा आवाज घन्काउने छौँ ।
सम्माननीय सभामुख महोदय,
यो ऐतिहासिक क्षणमा प्रतिपक्षमा बस्ने जनआदेश बोकेर आउनुभएका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपा र स्वतन्त्र माननीय ज्यूहरूलाई धेरै धेरै बधाई र शुभकामना भन्न चाहन्छु ।
सम्मानीय सभामुख महोदय
अन्त्यमा, यो अभूतपूर्व विजयले पराजित पक्षलाई पनि गम्भीर शिक्षा दिएको छ । यसले आफ्ना कमिकमजोरीहरूलाई सच्याउने अवसर दिएको छ । यो पराजय फगत अस्थायी हो । पराजित सेनाले छिट्टै सिक्दछ । यसले पराजयलाई छिट्टै विजयमा बदल्न सक्दछ । धन्यवाद ।
000
एमाले कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको पहिलो बैठकलाई गरेको सम्बोधन
