सिँहदरबार कसले जलायो?
अन्तर्वार्ता/बिचार
सम्माननीय अध्यक्ष महोदय,
यो राष्ट्रिय सभाको गरिमामय हलमा उपस्थित हुन पाउँदा आफूलाई अत्यन्त गौरवबोधको अनुभूति गर्दछु र राष्ट्रिय सभामा भएका असल र भिन्न प्रकारका अभ्यासबाट उत्साहित हुन पाउने यो मौका पनि हो र यसको लागि आभार पनि व्यक्त गर्न चाहन्छु र सँगसँगै, यो राष्ट्रिय सभामा निर्वाचित गर्ने मेरो दल, यो दलसँग सम्बद्ध गबन्धन दल र लुम्बिनी प्रदेशका प्रदेश सभाका माननीय सदस्यज्यूहरू, लुम्बिनी प्रदेशका स्थानीय तहका प्रमुख उपप्रमुख लगायतका सबै आदरणीय मतदाताज्यूहरूलाई म सम्झिन चाहन्छु।
हाम्रा केही असल अभ्यासहरू छन्। ती अभ्यासहरूको माध्यमबाट राष्ट्रिय सभामा मैले गर्ने भूमिका समग्र मुलुकको लागि, खासगरी लुम्बिनी प्रदेशको लागि र लुम्बिनी प्रदेशका हाम्रा मतदाताले हामीलाई निर्वाचनको बखत दिएर पठाएका दायित्व र जिम्मेवारीहरू छन्। ती जिम्मेवारीका सधैँ सम्झने प्रण गर्नेछु। यो राष्ट्रिय सभामा धेरै चिजहरू स्मृतिको रूपमा मात्रै लिन चाहन्छु। खासगरी नयाँ संकल्प हामी काम गर्ने सन्दर्भमा गर्ने नै छौँ। आज हामीले जुन लोकतान्त्रिक व्यवस्था कार्यान्वयन गरिरहेका छौँ । आजसम्मको यो परिवर्तन र यो परिवर्तनको दौरानमा शहादत प्राप्त गर्ने सम्पूर्ण शहिदहरू प्रति हार्दिक सम्मानपूर्वक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। शहिदहरूको सम्मानसँगै आजको समाज र यो समाजमा हामीले के प्राप्त गर्यौँ र आज जुन अवस्थाबाट यहाँ आइरहेका छौं। यसका प्रति थुप्रै अनुत्तरित प्रश्नहरू छन्। यो प्रश्न मलाई लाग्छ कि राष्ट्रिय सभामा छोडेर जानुपर्छ। यसको जवाफ, यसको छानबिन, यसको अभियोजन, यसको प्रतिवेदन, न्याय र निरुपण भन्ने कुरा इतिहासमा छोडेर गएका म भन्न सक्दिनँ, तर केही प्रश्नहरूचाहिँ सोध्नुपर्छ भन्ने लागेको छ मलाई।
त्यसैले, हुँदै गर्दाखेरि हामी खासगरी 0६२-६३ सालमा, 0४६ साल, सात साल, सबै शान्तिमा संलग्न भएका दलहरू, आज हामी यो सब ठिकठाक छ भनिरहेका छौं। यो सबै ठिकठाक थियो कि थिएन भन्ने कुराचाहिँ एउटा पुनरावलोकन आवश्यक छ। यो सब ठिकठाक थियो भन्दा ठिकठाक थिएन। तर सबै खराब थियो भन्दा यो खराब पनि थिएन। यो समाजलाई यहाँसम्म ल्याउनको लागि हाम्रा केही विभिन्न कालखण्डहरूमा असल अभ्यासहरू भए । ती अभ्यासबाट हामीले आजको परिष्कृत समाज पाएका थियौं। यसमा पनि हामीले धेरै यस्ता घनचक्करहरूमा उचाइ, ओरालोमा थुप्रै हन्डरहरू खाँदै आएका थियौं।
समाजको सहअस्तित्व स्वीकार गर्ने सन्दर्भमा हामीले धेरै अप्ठ्याराहरू भोग्दै आएका थियौं र आजको यो परिवर्तन यत्तिकै भएको होइन। यो परिवर्तनको पछाडि धेरै ठूलो संकल्प, धेरै ठूलो योगदान, धेरै ठूलो बलिदानकोआजको उपलब्धि छ, तर यो उपलब्धि हुँदै जाँदा, यि सबै कुरा समाजमा हामीले जस्तोको तस्तै किन भन्न सकेनौं? आज हाम्रा नवयुवाहरू यो संरचना, यो व्यवस्था र यी सबै कुरामा किन खुसी छैनन् भन्ने कुराका लागि चाहिँ मलाई आज के लाग्छ भने, ती बेठिकहरु थिए। ती बेठिकहरुलाई करेक्सन गर्ने हामीले कुरा दिएनौं। त्यसकारण, कुनै पनि लोकतान्त्रिक समाजभित्र शान्तिपूर्ण ढंगले कुनै पनि सत्ताको विरुद्ध नागरिकलाई विद्रोह गर्ने अधिकार सुरक्षित हुन्छ, तर भाद्र २३ र २४ गतेको विद्रोह शान्तिपूर्ण थियो अथवा त्यो हिंसात्मक र त्यो कस्तो विद्रोह थियो ? त्यसको जिम्मा कसले लिने हो ?
२३ गतेको घटनाका बारेमा केही प्रतिवेदनहरू आए। २४ गते खण्डहर भएका सिँहदरबारहरू, यी जलेका कुराहरू र यो राज्यको विरूद्धमा जलाउँदा केही हुन्न भन्ने कुराको भाष्य र त्यसरी मनिटरिङ गरेर कसले पठायो ? यसको उत्तर कसले खोज्ने हो? आज सिँहदरबारका जलाउन हुन्छ, जलाउँदा केही हुँदैन भन्ने भाष्य कसले खडा गरिदियो ? आज नवयुवालाई यो ढंगले कसले प्रयोग गर्यो? यसको जवाफ आज होइन, भोलि र कुनै दिन यही सम्मानित राष्ट्रिय सभाले खोज्नेछ। हामीभन्दा पछिका माननीय सदस्यहरूले पनि खोल्नुहुनेछ भन्ने लाग्छ कि कार्पेटमुनि धुलो राखेर सब ठिकठाक छ भनेर जाने कुरा मेरो विचारमा ठिक छैन।
भदौ २३ को घटना शान्तिपूर्ण थियो भन्ने आधारमा आज सिँहदरबार जे खण्डहर बन्यो, म त एक हिसाबले भन्ने हो भने सिँहदरबारको खण्डहरको साक्षी होइन। कुनै बेला म यी सबै कुरा निर्माणको म नेतृत्वकर्ता पनि थिएँ। त्यसले गर्दा अरू सबै मान्छेभन्दा म अझ धेरै भावविव्ह्ल छु कि यो इतिहासमा के भएको थियो? यसको निष्पक्ष छानबिन कहिले हुन्छ? त्यसको जवाफदेहिता राज्यले कुन तहले कहिले लिन्छ भन्ने कुराको प्रश्न अहिले यहाँ मैले छोड्न चाहन्छु ।
र यसको वरिपरी आफ्नो पूरा कार्यकालमा यो प्रश्नको जवाफ खोज्ने प्रयास पनि गर्नेछु । धन्यवाद ।
राष्ट्रिय सभा बैठकमा एमाले सांसद झाँक्रीले गरेको सम्बोधन
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
