नेपालगञ्जमा सडक क्षेत्रका अवैध संरचना हटाइँदै
नेपालगञ्ज। नेपालगञ्जको मुख्य सडक क्षेत्रमा फुटपाथ निर्माण गर्न अवैध रूपमा निर्माण गरिएका संरचना हटाउन थालिएको छ ।
सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी वृक्षरोपणसमेत गर्ने योजनाअनुरूप सो काम अघि बढाइएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन नेपालगञ्ज उपमहानगरपालिकाले त्यस क्षेत्रमा डोजर चलाएको छ । अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो ।
नगरस्तरीय तथा प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म र आयलनिगम चोकदेखि सरोजनी अस्पताल हुँदै राँझा चोक जाने बाटोमा दुई मिटर चौडा फुटपाथ निर्माण तथा वृक्षरोपण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
रु दुई करोड १५ लाखमा ठेक्का खोलेकामा गाउँले कन्स्ट्रक्सन र पञ्चदेवी निर्माण सेवा र ए एण्ड ए कन्स्ट्रक्सन जेभीले रु दुई करोड सात लाख ९९ हजार २११ मा भएको ठेक्का सम्झौता गरी फुटपाथ निर्माण थालेको उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनियर भूपेन्द्र बोहराले जानकारी दिनुभयो ।
सम्झौता अवधि असार २० गतेसम्म छ । तीन सय ९० मिटर विमानस्थल आयल निगमदेखि दक्षिण र २२०० मिटर धम्बोझीदेखि कारकाँदोसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरिने उहाँले बताउनुभयो ।
