`

कसलाई बनाउने उपसभामुख ? विपक्षी दलमा छलफल तीव्र

Nepal One HD २६ चैत २०८२ १२:१२
नेकपा एमाले

काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख पदका लागि प्रतिपक्षी दलहरूले उम्मेदवारी दिने तयारी थालेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलबीच यसबारे आन्तरिक छलफल भइरहेको छ।

नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले विपक्षी दलका तर्फबाट उपसभामुखमा उम्मेदवारी दिने तयारी भइरहेको जानकारी दिएका छन्। उनले संविधानको मर्मअनुसार सभामुख र उपसभामुख एउटै दलबाट नहुनुपर्ने धारणा राख्दै यसपटक उपसभामुख विपक्षीलाई दिनुपर्ने बताए।

उनका अनुसार सभामुख चयनमा विपक्षीले सहमति जनाइसकेको सन्दर्भमा अब सत्तापक्षले पनि संविधानको भावना अनुसार सहमतिको प्रयास गर्ने विश्वास गरिएको छ। यद्यपि यस विषयमा औपचारिक सहमति भने भइनसकेको उनले स्पष्ट पारे।

उपसभामुखमा उम्मेदवारी दिने वा नदिने र दिएमा कुन दलबाट दिने भन्ने विषयमा विपक्षी नेताहरूबीच छलफल जारी रहेको छ।

संघीय संसद् सचिवालयले बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ। सभामुख डोलप्रसाद अर्यालले शुक्रबार दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखको निर्वाचन हुने जानकारी दिएका छन्।

२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको १८२ सिटसहित स्पष्ट बहुमत रहेको छ। त्यसैले उसले समर्थन गर्ने उम्मेदवार नै उपसभामुख बन्ने सम्भावना बलियो देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *