रिहा हुने बित्तिकै आयो ओलीको यस्तो पोस्ट ?
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको दाबी गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अभिव्यक्तिमा उनले मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको उल्लेख गरेका छन्। साथै, रिहाइका लागि आवाज उठाउने न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, न्यायकर्मी, विभिन्न राजनीतिक दलका नेताहरू र सञ्चारकर्मीप्रति उनले आभार व्यक्त गरेका छन्।
‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु,’ उनले भनेका छन्, ‘मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु। साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु।’
उनले रिटमा परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति उच्च सम्मान प्रकट गर्दै प्रहरी नियन्त्रणमा रहँदा मानवीय व्यवहार देखाएको प्रहरी प्रशासनप्रति धन्यवाद व्यक्त गरेका छन्। त्यस्तै, स्वास्थ्य उपचारमा संलग्न त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि कृतज्ञता व्यक्त गरेका छन्।
ओलीले आफ्नो रिहाइको माग गर्ने क्रममा भएका प्रदर्शनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्ने धारणा राखेका छन्। राज्य उदासीन भएमा आफ्नो पार्टीले उपचार खर्च व्यहोर्ने पनि उनले बताएका छन्।
‘प्रहरी नियन्त्रणमा रहँदा मप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र मेरो स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि म कृतज्ञ छु,’ उनले लेखेका छन्, ‘मेरो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उहाँहरूको उपचार खर्च राज्यले बेहोर्नु पर्दछ, यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी गराउँछु।’
स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गर्ने जानकारी दिँदै उनले यस अवधिमा साथ र शुभेच्छा प्रकट गर्ने पार्टीका नेता-कार्यकर्ता तथा शुभचिन्तकहरूप्रति आभार प्रकट गरेका छन्।
उनले लेखेका छन्, ‘प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने जानकारी गराउँदै यस घडीमा सद्भाव र शुभेच्छा प्रकट गर्नुहुने पार्टीका समग्र नेता-कार्यकर्ता एवं समस्त शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्दछु।’
